प्रचण्डलाई ओलीको प्रश्न, ‘गुरिल्ला ट्रेल उद्घाटन गर्दै हिँडेर संविधान कार्यान्वयन हुन्छ ?’


१० पुस । (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टीसहित ९ दलले सरकारलाई तत्काल संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्न आग्रह गरेका छन् ।

पुस २२ गते ९ दलले गर्ने जन प्रदर्शनबारे जानकारी दिन एमाले संसदीय दलको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी ती दलले यस्तो आग्रह गरेका हुन् । उनीहरुले अहिलेको आवश्यकता संविधान कार्यान्वयन भएको भन्दै संविधान कार्यान्वयनलाई अलमल्याउन ल्याएको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।

पत्रकार सम्मेलनमा सम्वोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले निरंकुश व्यवस्थाको प्रधानमन्त्री भन्दा पनि अराजक, उदण्ड र भ्रामक शैलीमा सत्ता सञ्चालन गरेको भन्दै आलोचना गरे । ‘अहिले प्रचण्डलाई कसैले व्यवस्थापिका संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव पारित गरिदिन आश्वासन दिएको छ । त्यसैले उहाँ विपक्षी दलहरुलाई पनि कमजोर आँकी रहनु भएको छ,’ ओलीले भने, ‘गोजीमा सलाई र कैचीँ अनि हेलिकोप्टरमा एक झुण्ड मान्छे बोकेर ‘गुरिल्ला ट्रेल’को उद्घाटन गर्दै हिडेर राष्ट्र बलियो हुँदैन ।’

ओलीले प्रचण्डले सिंहदरबारमै  स्थापना गर्न खोजेको पनि अरोप लगाए ।  प्रचण्डले शनिबार रोल्पा गएर  ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्राहलय’को उदघाटन गरेका थिए । ओलीले आफूहरु संविधानको पक्षमा रहेको भन्दै कसैले मन लाग्यो भनेर ल्याएको राष्ट्रविरोधी संशोधन प्रस्तावलाई स्वीकार गर्न नसक्ने दाबी गरे ।

सम्मेलनमा संशोधनको विपक्षमा रहेका सबै दलका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो । उनीहरुले सरकारले देशलाई उत्तेजना र अराजकतातर्फ धकेल्न खोजेको पनि आरोप लगाए । उनीहरुले सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउदै उनीहरुले सरकारलाई झुक्न बाध्य बनाउन पुस २२ गते राजधानीमा भव्य जन प्रदर्शनको तयारी गरेको जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्