प्रचण्डलाई चुनौती दिँदै विप्लवले भने, ‘सशक्त प्रतिरोधको विकल्प छैन’


२१ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राज्यले दमन गरे आफूहरु सशक्त प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । महासचिव विप्लवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

आगामी फागुन १ देखि ८ गतेसम्म आफूहरु पार्टीको आठौं महाधिवेशनमा जुटिरहेको बताउँदै उनले उल्लेख गरेका छन्, ‘यही बेला हाम्रो पार्टीको विरुद्ध भ्रामक प्रचार राज्यको सञ्चार माध्यमबाट गर्नु भनेको हाम्रो महाधिवेशनलाई बाधा पु¥याउने र जनताको आकर्षणलाई भाँड्ने खेल हो । यो गम्भीर किन पनि छ भने राष्ट्र र जनताको पक्षमा काम गर्दा, साथै गलत कार्यको विरुद्ध संघर्ष गर्दा उक्त कार्यहरुलाई प्रोत्साहित गर्नुको सट्टा उल्टो दमन गर्नु भनेको राज्यले नै देशलाई अशान्ति र द्वन्द्वतिर धकेल्ने कार्य गर्नु हो । राज्यको यस्तो दमनकारी नीतिबाट हाम्रो पार्टी विचलित हुने त कल्पनै छैन बरु सशक्त प्रतिरोधको मार्गमा अगाडि बढ्नेछ ।’

विप्लवले चेतावनी दिँदै भनेका छन्, ‘हाम्रो पार्टी प्रचण्ड सरकारलाई यस्तो जनघाति कार्य रोक्न र हामीले अघि बढाएको विषयमा गम्भीर हुन आग्रह गर्दछ । अन्यथा आउने परिस्थितिको जिम्मेवार राज्य नै हुने चेतावनी पनि दिन्छ ।’

महासचिव विप्लवले बिहीबारको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो पार्टीको गतिविधिमाथि निगरानी गर्न प्रस्ताव गरेको विषयलाई लिएर यस्तो चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्