प्रचण्डलाई जन्मदिनको बधाइ दिन बालुवाटारमै पुगे वैद्य


२६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालसँग समसामयिक राजनीतिबारे छलफल गर्न आइतबार बालुवाटार पुगेका नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्रीलाई जन्मदिनको बधाइसमेत दिएका छन् । राजनीतिक विषयमा कुराकानी गर्न गएका भए पनि यी दुई नेताको भेट राजनीतिक कुरामा मात्र सीमित रहेन, सोही बेला वैद्यले प्रधानमन्त्री दाहाललाई ६२ औंँ जन्मदिनको शुभकामनासमेत दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुभएकामा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयबारे अवगत गराएको बताइन्छ । त्यसो त, दस वर्षसम्म एउटै पार्टीमा रहेर युद्ध लडेका वैद्य र दाहालबीचको सहकार्य केही वर्षअघि मात्रै टुटेको हो । माओवादीले क्रान्ति छाडेको र भारतपरस्त भएको आरोप लगाउँदै माओवादीको वरिष्ठ नेता वैद्यले रामबहादुर थापा ‘बादल’, पम्फा भुसाल, देव गुरुङ, नेत्रविक्रम चन्द, सीपी गजुरेललगायत नेतालाई लिएर बेग्लै माओवादी पार्टी गठन गरे । तर, पछिल्लो समय वैद्यलाई छाडेर बादल, भुसालहरु पुनः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमै फर्किसकेका छन् भने विप्लव भने अर्कै पार्टी खोलेर अलग भएका छन् ।

यी पुराना सहयोद्धाहरु अलग भएपछि मुस्किलले मात्रै भेट्ने गरेका छन् । तर, अहिले चौतर्फी राजनीतिक समस्या झेलिरहेका प्रधानमन्त्री दाहाललाई वैद्यले भेटेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्षसमेत रहेका वैद्य आज प्रधानमन्त्री निवास पुगेका थिए ।

सूत्रका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा भएको यी दुई नेताबीचको भेटमा समसामयिक राजनीति, संविधान कार्यान्वयन लगायत विषयमा कुराकानी भएको बताइन्छ । दाहाल प्रधानमन्त्री भएपछि वैद्यले योभन्दा अघि एक पटक दाहाललाई भेटेका थिए । संकटग्रस्त रहेको साझा प्रकाशनलाई बचाउने अभियानमा लागेका साझाका सञ्चालकहरुका साथै सरोकारवालाहरुलाई बल पुगोस् भनेर नेता वैद्य प्रचण्डलाई भेट्न पुगेका थिए । सो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले साझालाई डुब्न नदिने र ४ करोड सहयोग गर्ने बचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्