प्रचण्डलाई पूर्व मुख्यसचिव विमल कोइरालाका आधा दर्जन सुझाव


१९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजैबाट देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्दैछन् । उनी दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्न लागेका हुन् ।

संविधानसभाको पहिलो निर्वाचनबाट माओवादीलाई मुलुकको सबै भन्दा ठूलो पार्टी बनाएका प्रचण्ड त्यसैबेला प्रधानमन्त्री बनेका थिए । पछि तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुवाल काण्डले उनको प्रधानमन्त्री पद खुस्कियो । पहिलो कार्यकाल उनको सुखद रहेन ।

नेपाल सरकारका पूर्व मुख्यसचिव विमल कोइरालाको पनि त्यति ठहर छ । बुधबार विहान उनकै निवासमा पुगेर पहिलो न्युज डटकमले प्रचण्डका गुण–दोषका आधारमा मूल्याङ्कन गर्ने प्रयास गरेको छ । प्रचण्ड ३९ औँ प्रधानमन्त्री निर्वाचित हुनु भन्दा केही घण्टा अघि मात्र प्रचण्डका बारेमा केन्द्रित भएर कोइरालासँग गरेको कुराकानी, उनकै शब्दमाः

प्रचण्डको पहिलो कार्यकाल सुखद रहेन । उहाँको पहिलो कार्यकाल विवादमुक्त बन्न सकेन । उहाँ सरकारमा भन्दा पनि चाहिने भन्दा बढी सत्तामा केन्द्रित हुनुभयो । त्यसले पनि उहाँको पहिलो कार्यकाल सुखद बन्न सकेन । उहाँ बढी सत्तामा केन्द्रित भएकाले उहाँलाई उहाँको कार्यकालमा जनताले विश्वास गर्ने र पत्याउने कुरा सम्भव भएन ।

उहाँले आफ्नो दोस्रो कार्यकाललाई सफल बनाउने हो भने आफूलाई संशोधन र परिमार्जन गर्न जरुरी छ । उहाँले यसलाई सत्ता परिवर्तन होइन सरकार परिवर्तन भएको हो भन्ने ढंगले सोचेर नीतिगत सुधार, आर्थिक सुधार जस्ता कुरामा ध्यान दिन आवश्यक छ । उहाँले त्यसो गर्न सक्नुभयो भने मात्र उहाँको दोस्रो कार्यकाल सफल हुने छ । होइन भने उहाँ पहिलो कार्यकालको जस्तै विवादित नै भएर फर्किनु हुनेछ । अघिल्लो कार्यकालकै गल्तीहरुलाई उहाँले फेरि पनि दोहोर्याउँदै जानुभयो भने उहाँले भएको आफ्नो प्रतिष्ठालाई पनि गुमाउनु हुनेछ ।

भ्यागुताको धार्नी पुर्याउने खेल गलत

नेपालमा राजनीतिक स्थीरता आउन नसक्नुको प्रमुख कारण भनेको नै स–साना दललाई पनि सरकार सहभागि गराउने, मन्त्रालय दिने गरेकाले हो । त्यसो हुँदा सामान्य पार्टी खोलेका व्यक्तिहरुलाई पनि मन्त्री–प्रधानमन्त्री बन्ने आकांक्षा बढ्न थाल्यो ।

आफ्नो पार्टीलाई सत्तामा पुर्याएर त्यसैका आडमा शक्तिको दुरुपयोग गर्ने परिपाटी हावी हुँदै गयो । यसो हुँदा सत्तामा बसिरहने, सत्ता लम्ब्याउन चलखेल गर्ने जस्ता खेलोमेलो पनि बढी नै भए । यसले गर्दा मुलुक आर्थिक संवृद्धिको दिशामा अघि बढ्न सकेन । झन्झन् पछाडि धकेलिदैँ गयो । यदि प्रचण्डले देशको संवृद्धि चाहने हो भने त्यस्ता गल्तीलाई पनि परिमार्जन गरेर अघि बढ्न आवश्यक छ । उहाँ फेरि पनि सत्तासमीकरणकै खेलमा अल्झिरहनु भयो भने उहाँको कार्यकाल असफल हुने निश्चित छ ।

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदोरहेनछ । राजनीतिक स्वार्थका लागि तुरुन्तै गठबन्धन बन्ने र तुरुन्तै भत्किने खेल हामीले देख्दै आएका छौँ । आफूले गाली गरेको भोलि सहयात्री बन्ने र आफूले माया गरेको भोलि शत्रु बन्ने पनि राजनीतिमा हुँदोरहेछ । कुनै बेला शेरबहादुर देउवा सत्तामा र प्रचण्डहरु युद्धमा हुनुहुन्थ्यो । अहिले हामीलाई पनि अचम्म लागेको छ । ती दुबै शक्ति मिलेर सत्ता चलाउने तयारीमा जुटेका छन् ।

गठबन्धन ‘सुप’ बन्नुपर्छ

राजनीतिक दलहरुको गठबन्धन ‘सुप’ जस्तो बन्नुपर्छ । सबै चिज हाल्दा पनि एउटै स्वाद आउने । तर, हाम्रो नेपालको सन्दर्भमा भन्ने हो भने गठबन्धन ‘सलाद’ जस्तो छ । मुला खायो मुलाको स्वाद, काँक्रो खायो काँक्रोको स्वाद, गाँजर खायो गाँजरको स्वाद ।

सबै दलका आ–आफ्नै स्वार्थ र एजेण्डा हुने भएकाले गठबन्धन बलियो नभएको इतिहास हामीले देख्दै आएका छौँ । सबैका स्वार्थ एकै ठाउँ राखेर त्यसलाई राष्ट्रिय स्वार्थ बनाउन सकियो भने मात्र त्यो गठबन्धनले राष्ट्र र जनताको हितमा काम गर्न सक्छ । त्यस्तो गठबन्धनको संस्कृति हाम्रो देशमा छैन । आ–आफ्ना स्वार्थलाई काखी च्यापेर हिड्यो भने त्यो गठबन्धन बलियो हुँदैन । प्रचण्डले यो कुरामा ध्यान दिन जरुरी छ । न्युनतम आर्थिक, सामाजिक एजेण्डा बनाएर त्यसलाई पूरा गर्ने गरी गठबन्धन बनायो भने मात्र त्यो दीर्घकालिन र राष्ट्रहितमा हुनेछ ।

ओली सरकारले गरेका राम्रा कामको निरन्तरता

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा कतिपय राम्रा काम भएका छन् । ती राम्रा कामलाई पनि प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता दिनुपर्ने हुन्छ । चीनसँग गरेका केही सम्झौता ओली सरकारले गरेका सकारात्मक काम हुन् । त्यसलाई पनि अब बन्ने सरकारले प्राथमिकता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्