प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा चिया गफमात्रः महासचिव पोख्रेल


२८ जेठ । नेकपा (एमाले) महासचिव ईश्वर पोख्रेलले नेकपा माओवादी केन्द्र र एमालेबीच भएको नौँ बुँदेमा कतै पनि खल्तीको रुमाल झिकेर खुत्रुक्क अर्काको खल्तीमा हालिदिने खालको सहमति नभएको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले सुरु गरेको साप्ताहिक अन्तर–संवाद–१ मा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले माओवादीसँग भएको भद्र सहमतिलाई बाहिर अभद्र रुपमा प्रस्तुत गरेकाले केही तलवितल जस्तोे देखिएको भन्दै नौँ बुँदेमा जे बाहिर आयो त्यो भन्दा अन्य केही नभएको प्रष्ट पारे । ‘माओवादीसँग भएको नौ बुँदेलाई लिएर हाम्रा साथीहरुमा पनि केही अलमल भए जस्तो लागेको छ,’ उनले भने, ‘सहमतिको साक्षी एमालेको महासचिव ईश्वर पोख्रेल यहि छु, यसैलाई आधार मान्नुहोला । विश्वास लाग्दैन भने अरु नेतालाई पनि बोलाएर सोध्नु भएको यहि हो ।’

‘माओवादीसँग भएको नौ बुँदेलाई लिएर हाम्रा साथीहरुमा पनि केही अलमल भए जस्तो लागेको छ,’ उनले भने, ‘सहमतिको साक्षी एमालेको महासचिव ईश्वर पोख्रेल यहि छु, यसैलाई आधार मान्नुहोला ।

प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा चिया गफमात्र

कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोख्रेलले नीति, कार्यक्रम र बजेटपछि माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिने भन्ने कुरा चिया गफमा मात्र भएको दाबी गरे । ‘नीति, कार्यक्रम र बजेटपछि प्रचण्डजीलाई प्रधानमन्त्री दिने भन्ने बारेमा केही तर्क–वितर्क भएकै हो,’ उनले भने, ‘सँगै बसेर चिया खाँदा त्यस्ता कुरा भए, उहाँ आफैले पनि अहिले नै यसरी जाँदा फेरि समस्या पो हुने हो कि भन्नुभयो, सबै उठियो । भएको त्यति मात्र हो ।’ महासचिव पोख्रेलले त्यसपछि त्यो विषयमा औपचारिक र लिखित कुरा कतै नभएको दाबी गरे ।

‘सँगै बसेर चिया खाँदा त्यस्ता कुरा भए, उहाँ आफैले पनि अहिले नै यसरी जाँदा फेरि समस्या पो हुने हो कि भन्नुभयो, सबै उठियो । भएको त्यति मात्र हो ।’

सहमतिको सरकार बने एमालेलाई आप्पति छैन

पोख्रेलले सहमतिको सरकारका लागि सबै भन्दा बढी जोड एमालेले नै गरेको दाबी गरे । संविधानसभाको दोस्रो निर्वाचनपछि सबै भन्दा बढी सहमतिको कुरा गर्ने एमाले नै भएको भन्दै कांग्रेसले नै सहमतिको राजनीति भंग गरेको आरोप लगाए । ‘अहिले पनि एमाले सहमतिकै सरकारको पक्षमा छ, कम्तीमा पनि चार ठूला दलबीच सहमति भयो भने संविधान जारी गर्न सहज हुन्छ,’ पोख्रेलले भने, ‘तर, सहमतिको वातावरण नबनुन्जेल यहि समिकरण रहन्छ ।’

कांग्रेससँग पनि सहमति

पोख्रेलले बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमतिमा अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए । ‘प्रधानमन्त्री ज्युले सहमतिका साथ अघि बढ्न कांग्रेस सभापति ज्युलाई आग्रह गर्नुभयो,’ पोख्रेलले भने, ‘उहाँले पनि संविधान संशोधन र ऐन वनाउदा कांग्रेससँग पनि सल्लाह गर्न आग्रह गर्नुभयो ।’

मनमोहनपछिको लोकप्रिय सरकार

पोख्रेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मनमोहन अधिकारीपछिको लोकप्रिय सरकार भएको दाबी गरे । राष्ट्रियताका सन्दर्भमा पनि ओली नेतृत्वको सरकारले अडान लिएको भन्दै एमालेको शीर उच्च बनाउन ओली सरकार सफल भएको तर्क गरे ।

‘संविधान च्यातेर र जलाएर पुर्नलेखन गर्नुपर्छ भन्ने माग किमार्थ पूरा हुँदैन,

संशोधन हुन्छ, पुर्नलेखन हुन्न

उनल केही तराई–मधेश केन्द्रित दलका माग सुन्न सरकार तयार रहेको भन्दै जायज मागको मात्र सम्बोधन हुने बताए । ‘संविधान च्यातेर र जलाएर पुर्नलेखन गर्नुपर्छ भन्ने माग किमार्थ पूरा हुँदैन,’ पोख्रेलले भने । कार्यक्रममा सचिव एवं एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई, उप–प्रमुख एवं एमाले केन्द्रीय सदस्य सूर्य थापा, चौतारीका पूर्व अध्यक्षहरु शम्भु श्रेष्ठ, गगन विष्टलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेत र वरिष्ठ उपाध्यक्ष माधव नेपालले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्