प्रचण्डलाई प्रधानमन्त्री दिँदैनौँ भनेका छैनौँः प्रकाशशरण महत


नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे लगत्तै कांग्रेस नेता डा प्रकाशशरण मतहसँग टेलिफोनमा छोटो कुराकानी भयो । कुराकानीका क्रममा उनले माओवादीको पत्रकार सम्मेलन र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रियापछि कुन ढंगले अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जानकारी दिए । महतसँग गरेको छोटो कुराकानीः

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो । अबको राजनीतिले कुन मोड लिन्छ ?

सबै भन्दा पहिला त माओवादीले पत्रकार सम्मेलन गर्ने भनेको छ । त्यहाँ केही कुरा होला । प्रधानमन्त्री ओलीजीका पनि केही कुरा बाहिर आउलान् । त्यसपछि सबै कुरा गर्दा उचित होला । सबै कुरा बाहिर आएपछि बैकल्पिक सरकारका बारेमा छलफल प्रक्रिया अघि बढाउँछौँ ।

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने निश्चित भएको हो ?

हामीले प्रचण्डलाई प्रधानमन्त्री हुँदैन भनेका छैनौँ । यो विषयमा पनि माओवादीको पत्रकार सम्मेलनपछि कसरी अघि बढ्ने भन्ने थाहा हुन्छ । यो विषयमा घनीभूत रुपमा छलफल अघि बढाउँछौँ ।

तर, कांग्रेस माओवादीबीच मन्त्रालयकै बाँडफाँट भएको भन्ने छ नि ?

त्यो, सत्य होइन, त्यो बारेमा छलफल भएकै छैन । अब सबै विषयमा छलफल गरेर अघि बढ्छौँ । अहिले नै सबै कुरा गर्यो भने त्यो अपरिपक्क निर्णय हुन्छ ।

वैकल्पिक सरकारका बारेमा एमालेसँग पनि त छलफल होला नि ?

प्रधानमन्त्री केपी ओलीजीसँगै धेरै पटक छलफल भएकै हो नि । उहाँले राष्ट्रिय सहमतिको सरकारका लागि मलाई समर्थन गर्नुहोस् भन्नुभयो । हाम्रो सभापतिले सकिदैँन भन्ने जवाफ दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्