प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति भएको छैनः अर्जुननरसिंह केसी


सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको भन्दै बाहिर चर्चा गरिरहेका बेला नेपाली कांग्रेस भित्र भने फरक–फरक धारणा बाहिर आएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले औपचारिक निर्णय नभएको दाबी गरेका छन् । उनले प्रचण्डलाई प्रधानमन्त्री दिए पनि शर्तसहित दिने दाबी गरेका छन् । केसीसँग गरेको छोटो कुराकानीः

नौ महिनाको गठबन्धन तोडेर माओवादी केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएपछि नेपालको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । यसलाई कांग्रेसले कसरी लिएको छ ?

हामी आज केन्द्रीय कमिटीको बैठक बस्दै छौँ । त्यो बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने वा अरु विकल्पमा जाने भन्ने संस्थागत निर्णय गर्ने छ । माओवादीले अहिलेको सरकारसँगको गठबन्धन तोडेपछि राजनीतिमा निश्चित रुपले नयाँ तरंग पैदा भएको छ । हामी अहिले प्रमुख प्रतिपक्षी दल भएको नाताले राष्ट्रको आवश्यकतालाई महशुस गरेर निर्णय लिन्छौँ । त्यसका लागि सबै विकल्पलाई खुला राखेर हामी एउटा निष्कर्षमा पुग्छौँ ।

नेपाली कांग्रेसले त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि मात्र माओवादी सरकारबाट फिर्ता आएको भन्ने चर्चा छ नि ?

वार्ता र संवाद विभिन्न चरणमा भएकै हो । माओवादीसँग गठबन्धन गरेर अघि बढ्ने भन्ने कुरा केही अघि पनि भएकै हो । तर, अहिले माओवादी सरकारी गठबन्धनबाट बाहिरिएको छ । त्यसपछिको परिस्थिति अलग भएको छ । त्यसलाई हामीले अलग ढंगले विश्लेषण गरेका छौँ ।

प्रमुख प्रतिपक्षी र संसद्को सबै भन्दा ठूलो दल भएको नाताले सरकारको नेतृत्व गर्ने दाबी नेपाली कांग्रेसकै हुन्छ । यद्यपि हामी विकल्पहरुको खोजिमा छौँ । राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्छ भनेर माओवादीसँग मात्र होइन हामीले अन्य दलसँग पनि वार्ता र छलफल गरेकाले प्रचण्डलाई नै प्रधानमन्त्री दिने औपचारिक सहमति भएको छैन ।

माओवादीले त प्रचण्डलाई प्रधानमन्त्री दिने कुरामा कांग्रेसले ल्याप्चे लगाई सक्यो भन्दै आएको छ नि त ?
राजनीतिमा भन्ने एउटा कुरा हुन्छ । औपचारिक र संस्थागत गर्ने निर्णयहरु आफ्नै प्रकारका हुन्छन् । माओवादीलाई प्रधानमन्त्री पद दिने अवस्था आइहाले पनि शर्तसहित हुनेछ । त्यो पनि औपचारिक निर्णय नभई सकेको अवस्थामा यसै भन्न सक्ने स्थिति छैन । विश्वास गर्ने एउटा कुरा हो औपचारिक निर्णय भएको छैन । केही समहति भएका होलान् । तर, औपचारिक निर्णय लिने थलो केन्द्रीय कमिटी नै हो ।

कांग्रेस र एमालेको गठबन्धनको संभावना कत्तिको देख्नुभएको छ ?

त्यो संभावना निकै कम छ । त्यो वातावरण एमालेले नै निर्माण गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्