प्रचण्डलाई प्रधानमन्त्री बनाउने कांग्रेसको औपचारिक प्रस्ताव


२९ असार । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सर्वसहमतिबाट पारित गरेको छ ।

बुधबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई सर्वसहमतिबाट अनुमोदन गरेका छौँ,’ कांग्रेस नेता प्रकाशशरण महतले पहिलो न्युजसँग भने ।

उनले दुई दलबीच भएको ७ बुँदे सहमति पत्रलाई अनुमोदन गरेको भन्दै आन्दोलनमा रहेका मधेसी मोर्चा लगायतका दल र समूहलाई पनि वार्ता र सहमतिबाट संविधान निर्माण प्रक्रियामा सामेल गराउने सहमति भएको जानकारी दिए । ‘अहिले तत्काललाई प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर जाने निर्णय भयो,’ महतले भने ।

प्रतिक्रिया दिनुहोस्