प्रचण्डलाई भीम रावलको प्रश्न, ‘तपाईँले यो लफडा गणित कुन विश्वविद्यालयमा पढ्नुभयो ?’


५ पुस । नेकपा (एमाले) मन उपाध्यक्ष एवं पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री विमलेन्द्र निधिको  उत्तेजनापूर्ण भाषणका कारण एक जना देशभक्त युवाको हत्या भएको आरोप लगाएका छन् । संयुक्त युवा–विद्यार्थीले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री र गृहमन्त्रीको उद्दण्ड र उत्तेजनापूर्ण भाषण आएको केही दिनमा एक जना होनहार देशभक्तिपूर्ण भाव भएका युवा दुर्गा तिवारीको गोली हानी हत्या भएको छ,’ उनले भने, ‘पदको दुरुपयोग गर्दै उद्दण्ड अभिव्यक्ति दिने प्रधानमन्त्री र गृहमन्त्रीलाई जनताले छाड्नेवाला छैनन् ।’

प्रधानमन्त्री र गृहमन्त्रीले सत्ता जोगाउन कसैको हत्या गरेको भन्दै रावलले त्यसो गर्दैमा एमालेले चालेका राष्ट्रवादी कदम नरोकिने चेतावनी दिए ।  ‘उहाँहरुलाई जनताले दण्डित गर्नेछन्,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीका धम्कीले हामी डराउँदैनौँ । यो राष्ट्रघाती संविधान संशोधनप्रस्ताव फिर्ता नहुन्जेल हामी आन्दोलन जारी राख्छौँ ।’

यो लफडा गणित कुन विश्वविद्यालयमा पढ्नुभयो ?

कार्यक्रममा रावलले प्रधानमन्त्री प्रचण्डले आफू अल्पमतमा पर्ने निश्चित भएको संविधान संशोधन प्रस्तावलाई संख्या पुर्याउन ल्याएको भनेर जनतालाई ढाँटेको आरोप लगाए । ‘तपाईँले ल्याएको संशोधन प्रस्तावको विपक्षमा एकतिहाई बढी मत छ,’ रावलले भने, ‘तपाईँ यो प्रस्ताव संसद्बाट पास गराउन र संविधानको पक्षमा संख्या बढाउन ल्याएको भन्नुहुन्छ । यस्तो लफडा गणित तपाईँले कुन विश्वविद्यालयमा पढ्नुभएको हो ?’

संविधानको विपक्षमा ३७ जना र त्यसमा पनि तराईबाट ११ जना सांसद्को विरोध रहेको भन्दै बहुमतले जारी गरेको संविधानलाई कुल्चन खोजेर कांग्रेस माओवादीले गलत गरेको पनि उनले आरोप लगाए ।

संशोधन प्रस्ताव विदेशी माटोबाट आएको हो

रावलले संविधान संशोधनको प्रस्ताव विदेशी माटोबाट आएको आरोप लगाए ।  ‘मैले यो संशोधन प्रस्ताव मधेसी मोर्चाका नेताले समेत विरोध गरेपछि कहाँबाट आएको होला भनेर सोचेँ,’ रावलले भने, ‘पछि बुझेको त यो प्रस्ताव त भारतको विदेश मन्त्रालयबाट पो आएको रहेछ । यो संशोधन प्रस्ताव ठिक छ भन्दै भारतीय विदेश मन्त्रालयबाट विज्ञप्ति आएपछि म छर्लङ्ग भएँ ।’

मधेसी मोर्चाका केही नेताहरुले भारतीय दूतावासमा गएर भोज खाएपछि दूतावासले अहिले यति लिदै गर्नुहोला बाँकी पछि लिदै जाने हो भनेपछि मोर्चाका नेताहरु पनि त्यसैको पछि लागेको आरोप लगाए ।

देशलाई विखण्डन गर्ने प्रस्ताव अस्वीकार्य

रावलले अहिले प्रदेश नम्बर पाँच पहाडबाट अलग गर्ने र विस्तारै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि पहाडबाट अलग गर्ने नियतले यो प्रस्ताव आएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्