प्रचण्डलाई संघीय समाजवादीपछि तमलोपाको चेतावनी– ‘हाम्रो समर्थन छठसम्म मात्र हो’


१७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार झन्–झन् संकटमा पर्ने संकेत देखिएको छ । कांग्रेस–माओवादी गठबन्धनको सरकारलाई समर्थन गरेका मधेसवादी दलहरुले एकपछि अकोृ गर्दै प्रचण्डलाई दिएको समथृन फिर्ता लिने चेतावनी दिएसँगै प्रचण्ड नेतृत्वको सरकार संकटमा पर्ने संकेत देखिएको हो ।

व्यवस्थापिका संसदमा १५ सिट रहेको मधेसी मोर्चामा संलग्न संघीय समाजवादी फोरमले सरकार गठन गर्ने बेला गरेका सम्झौता कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै सरकार विरोधी आन्दोलन सुरु गरिसकेको छ । उसले दशैँ, तिहार र  छठसम्म पर्खिने र त्यसपछि मधेसमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएको छ ।

फोरम मात्र होइन मोर्चामै संलग्न तराई मधेस लोकतान्त्रिक पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । ११ व्यवस्थापिका संसदमा ११ सिट रहेको तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लाले पनि प्रचण्ड नेतृत्वको सरकारलाई  छठसम्मको अवसर दिने बताए । ‘सुरुमा सरकारले मधेसका माग सम्बोधनका लागि जुन चासो देखाएको थियो, अहिले छैन, शुक्लाले भने ‘हामीले चारबुँदे सहमतिको पहिलो बुँदामा नै संविधान संशोधनको कुरा गरेका थियौँ,  तर अहिलेसम्म त्यो बुँदामा नेपाली कांग्रेस र माओवादीले चासो देखाएको छैन ।’  उनले दुबै दलले हुन्छहुन्छ भने पनि प्रक्रिया अघि नबढाएको भन्दै आक्रोस व्यक्त गरे ।

‘जबसम्म कांग्रेस र माओवादी संविधान संशोधनको विषयमा एक मत हुँदैनन् तबसम्म त्यस प्रक्रियाले गति लिन सक्दैन,’ उनले भने ‘तर उहाँहरु एक ठाउँमा अहिलेसम्म आउनु पनि भएको छैन र आउन चाहनु पनि भएको छैन ।’

उनले कांग्रेस–माओवादीको ढिलासुस्तीले दीर्घकालिन असर पर्ने समेत चेतावनी दिए । ‘उहाँहरुले जुन खालको ढिलासुस्ती गर्नुभएको छ, त्यसले दीर्घकालिन असर गर्ने संभावना छ,’ उनले भने ‘हाम्रा माग पूरा भएनन् भने उहाँहरुलाई समर्थन गरिरहनुपर्छ भन्ने केही छैन । दशैँ, तिहार र  छठसम्ममा पनि समस्या समाधान भएन भने हामी समर्थन फिर्ता लिएर संघर्षमा जान्छौँ ।’

प्रतिक्रिया दिनुहोस्