प्रचण्डलाई सरस्वती सुब्बाको सुझावः ‘जातीय विषवृक्षलाई मल हाल्ने काम नगर्नुस्’


१९ साउन । भूमिअधिकारवादी नेता सरस्वती सुब्बाले प्रचण्डलाई प्रधानमन्त्री भएपछि गुर्न पर्ने र गर्न नहुने सुझावको एक फेहरिस्त नै उल्लेख गरेकी छिन् । सुब्बाले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई दिएको सुझावमा सुब्बाले जातीय विषवृक्षलाई मल हाल्ने काम नगर्न सुझाव दिएकी छिन् ।

त्यसैगरी सुब्बाले प्रचण्डलाई भारतको समर्थनमा प्रधानमन्त्री बन्न लागेको समाचार भारतीय संचार माध्यमले दिँदा औपचारिक खण्डन गरेको स्मरण गराउँदै अब व्यवहारले खण्डन गरेर देखाउन पनि सुझाव दिएकी छिन् । सुब्बाको सुझाव उनकै शब्दमाः

  • प्रधानमन्त्री पदको सपथ लिएर पदभार समाल्नासाथ कुनै लोकप्रिय निर्णय गर्ने चलन छ । ओलीले तुइन विस्थापित गर्ने निर्णय गर्नुभएको थियो । प्रचण्डलाई मेरो सल्लाह छ– सुकुम्वासीविहिन अवस्था सिर्जना गर्ने निर्णय गर्नुस् ।
  • भूमि नीति तत्काल लागू गर्ने निर्णय गर्नुस्, तपाईंको थेगोमा सीमित नयाँ नेपाल बनाउन नेपालमा भूमि व्यवस्थापन साहसका साथ गर्न आवश्यक छ । नत्र नयाँ नेपाल तपाईंको थेगो मात्र ठहरिनेछ ।
  • ओली सरकारको पालामा गृह नीतिभन्दा विदेश नीति नै प्रमुख मुद्दा बनेको थियो । तपाईंको पालामा देशको शिर निहुरिने कुनै काम नहोस् । भारतको समर्थनमा प्रधानमन्त्री बन्न लाग्नुभएको समाचार भारतीय संचार माध्यमले दिँदा तपार्इंले औपचारिक खण्डन गर्नुभएन । अब व्यवहारले खण्डन गरेर भन्नुस्– म नेपाली जनताको प्रधानमन्त्री ।
  • नेपालमा विकासका लागि पूँजी र प्रविधिको अभाव छैन, नीतिको अभाव पनि छैन, आफ्नै देशको लगानी र बलबुँताबाट ठूला विकास आयोजना बनाउने ओली सरकारको नीतिलाई निरन्तरता दिनुस् ।
  • विदेशीको दवाब र प्रभावमा नपर्नुस्, जनतामा विश्वाश गर्नुस्, देशभित्रका शक्तिहरुसँग अवान्छित र भविष्यमा देशलाई नै अप्ठेरो पर्ने सम्झौता नगर्नुस् ।
  • नेपालमा जातीय विष रोप्न तपाईंको ठूलो भूमिका छ, तपाईंले रोपेको विरुवा वृक्ष बन्न खोज्दैछ । जातीय विषवृक्षलाई मल हाल्ने काम नगर्नुस्, साम्प्रदायिकतालाई बढावा नदिनुस् । जनतालाई फलाना र ढिस्काना जात भनेर वर्गीकरण नगर्नुस् । प्रधानमन्त्रीले जात होइन जनता हेर्ने हो ।
  • कुर्सीमा बसेपछि आँखा नदेखिने र कान नसुनिने रोग लाग्छ । लोभलालच नामक व्याक्टेरियाले यो रोग लाग्छ रे, यी व्याक्टेरियाबाट बच्नुस् ।
  •  तपाईं र तपाईंको पार्टीका लागि सम्भवत यो अन्तिम मौका हो । यो मौकाको सहि सदुपयोग गरेर देशको भविष्य बनाउने काममा लाग्नुस्, तपाईं र तपाईंको पार्टीको भविष्य बन्छ । मौकाको दुरुपयोग गर्नुभयो भने समानुपातिकमा एकदुई सिटे च्याँखे पार्टी बन्नुहुन्छ ।
  • तपाईं अजम्बरी प्रधानमन्त्री होइन, ढिलोचाँडो विदा पाउनुहुनेछ । तपाईं बाहिरिँदा जनताले दुखमनाउ गर्ने अवस्था होस् । जनताले त्यसबेला भनुन् ‘केपी ओली हट्दा भन्दा प्रचण्ड हट्दा धेरै दुख लाग्यो’ । राम्रो काम गर्नुस्, जनताको साथ अवश्य मिल्छ ।
  • नयाँ सरकारलाई सहयोग गरौं, किनभने पात्र फेरिए पनि देश हाम्रो हो, सरकार हाम्रो हो, हाम्रो सरकार असफल भए देश असफल हुन्छ, हामीले दुख पाउँछौं । शुभकामना प्रचण्डजी 
प्रतिक्रिया दिनुहोस्