प्रचण्डले पाँच दललाई भने– ‘यताउति नगर्नुहोस् मोर्चा नआए पनि निर्वाचन हुन्छ’


६ वैशाख । प्रमुख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठक बसेको छ ।

बैठकले यही वैशाख ३१ मा हुने निर्वाचन कुनै पनि हालतमा नरोक्ने निर्णय गरेको छ । ‘वैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने,’ सहमति पाँच दलबीच भएको छ,’ एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पहिलो न्युजसँग भने, ‘प्रधानमन्त्री प्रचण्डजीले पनि वैशाख ३१ मा हुने निर्वाचन जसरी पनि गराउने दाबी गर्नुभयो ।’

प्रधानमन्त्रीले आफूहरुलाई यताउता नगरी चुनावी कार्यक्रममा सहभागी हुन आग्रह गरेको पनि नेम्वाङले जानकारी दिए । ‘निर्वाचनमा सबै मोर्चा गठबन्धन नआउनेमा गए । म अझै पनि सम्पर्कमा छु । आउने भए भने सहभागी गराउने प्रयास हुन्छ,’ प्रधानमन्त्रीको भनाई उध्रित गर्दै नेम्वाङले भने, ‘मधेसी मोर्चा पनि आउँछ् भन्ने अध्याधिक प्रयास गर्ने छु । यताउती नगर्नुहोस । हामी चुनावमा जाने हो । मैले छलफल गरिरहेको छु ।’

बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको पनि नेम्वाङले जानकारी दिए । बैठकमा स्थानीय तहको निर्वाचन, मधेशी मोर्चाले उठाएका माग र संविधान संशोधनका विषयमा छलफल भएको थियो ।

वैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, नेता वर्षामान पुन ‘अनन्त’, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्