प्रचण्ड केही महिनाका लागि मात्र प्रधानमन्त्रीः महरा


२८ असार । संसद्को सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले औपचारिक रुपमै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति गरेको माओवादीले खुलासा गरेको छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारेमा जानकारी दिन मंगलबार सिंहदरवारमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी नेता कृष्णबहादुर महराले यस्तो खुलासा गरेका हुन् ।

उनले पहिलो चरणमा केही समयका लागि प्रचण्ड प्रधानमन्त्री बन्ने दाबी गरे । ‘प्रतिवद्धता पत्र नेपाली कांग्रेसले पठाइसकेको छ,’ महराले पत्रकार सम्मेलनमा भने, ‘कति समयका लागि बनाउने भन्ने टुंगो लागेको छैन ।’ महराले एउटा निर्वाचन माओवादीकै नेतृत्वको सरकारमा गर्ने मोटामोटी समहमति भएको दाबी गरे । उनले कांग्रेसको पत्र नै आफूहरुले पाएको भन्दै सबै कुराको टुंगो बुधबार कांग्रेसले पत्रकार सम्मेलन गरेपछि लाग्ने पनि बताए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णयलाई अपारदर्शी र व्यक्तिगत रुपमा भएको आरोप लगाउँदै आएका नेता नारायाणकाजी श्रेष्ठ पत्रकार सम्मेलनमा उपस्थित थिएनन् । अध्यक्ष प्रचण्ड पनि पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्