प्रचण्ड निवासमा किन बस्यो छुट्टै बैठक ?


काठमाडौं, २ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ ।

सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्व माओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो ।

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टी्भित्र गुट मौलाउँदै गएकाले छुट्टै भेला गर्ने, बैठक गर्ने जस्ता कार्य बन्द गर्नुपर्छ भनेर उल्लेख भए पनि उनैबाटै त्यसको उल्लंघन भएको छ । ‘पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन् ।

पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेका छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा बढ्दै गएको छ ।

अलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन जस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन,’ स्थायी कमिटिमा प्रस्तुत प्रतिवेदनमा लेखिएको छ ।

आफैंले तयार पारेका प्रतिवेदनलाई चुनौती दिँदै दाहाल स्वंयले पूर्व माओवादी खेमाका नेतालाई निवासमा बोलाएर बैठक गरेको स्रोतले जनाएको छ । यस विषयमा प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जानकारी दिइएको छैन । स्वास्थ्यका कारण ओली स्थायी कमिटी बैठकमा उपस्थित भएका छैनन् ।

स्थायी कमिटी बैठक सुरु भएको दोस्रो दिन सोमबार बिहान दाहालले आफ्नै निवास पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका थिए । दाहालले बोलाएको यो बैठक स्थायी कमिटी बैठकमा उनैद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको मर्म र भावना विपरीत छ ।

स्रोतका अनुसार खुमलटार बैठकमा समग्र पार्टी हितमा धारणा राख्ने भनिए पनि सभामुख खोसिने चिन्ता व्यक्त भयोे । यसअघि पूर्वमाओवादी खेमाबाट सभामुख बनाइएको थियो । सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार आरोपमा राजीनामा दिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपामा अनुकूल पात्र खोजी भइरहेको छ ।

स्थायी कमिटी बैठकमा पूर्व माओवादी खेमाका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, देवेन्द्र पौडेललगायत १४ जना सहभागी थिए । स्थायी कमिटीमा पूर्वमाओवादीबाट १९ जना छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्