प्रचण्ड नेतृत्वको सरकार तमासे बन्योः खनाल


१७ असोज । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७४ माघ ७ भित्रमा स्थानीय, प्रदेशसहित तीनवटै निर्वाचन सम्पन्न गराउँने जिम्मेवारी बोकेको एमाओवादी नेतृत्वको  सरकार रमिते बनेको आरोप लगाएका छन् । ‘आयोगले गरेका कामलाई नमान्ने, स्थानीय निकायको पुनःसंरचनालाई स्वीकार नगर्ने गरेर सरकार तमासे बनेको छ,’ सोमबार ललितपुरमा अर्थ मिडिया ग्रुपले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा ‘ललितपुर पर्यटन दर्पण’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता खनालले भने ‘एमालेलाई बीचमा राखेर मात्रै सहमति हुन सक्छ ।’एमालेलाई स्तम्भ मानेर राष्ट्रिय सहमतिको बाटोमा नहिँडे मुलुक र राजनीति दुबै संकटमा पर्ने उनको भनाई थियो ।
सञ्चारकर्मी अमृतनाथ तिमल्सिनाले ललितपुरको पर्यटनलाई आधार मानेर लेखेको पुस्तक विमोचन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सांसद सुशिला नेपालले विकासको नेतृत्व युवा पुस्ताको अगुवाईमा हुनुपर्ने बताइन् ।
एमाले ३ नं प्रदेशका सदस्य एवम् पूर्व सांसद मिठाराम शर्माले ललितपुरको विकासका लागि पर्यटन महत्वपूर्ण आधार भएको बताउँदै राजनीतिले समृद्धिको बाटोमा अगुवाई गर्नुपर्ने बताए ।
पुस्तकका लेखक तिमल्सिनाले ललितपुरको पर्यटनलाई कुपण्डोल र मंगलबजारमा सीमित राखिएकोमा चिन्ता लागेरै सिंगो जिल्लाको पर्यटकीय अवस्थाको अध्ययन गर्ने हुटहुटीले पुस्तकको आकार ग्रहण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्