प्रचण्ड नेपालको प्रधानमन्त्री भए मोर्चाका नेतालाई जेल हालेर देखाउन भीम रावलको चुनौती


५ माघ  । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले मधेसी मोर्चाका नेताहरुलाई भारती दूतावासको भात खाएर राष्ट्रियताको कुरा नगर्न सुझाव दिएका छन् । राजधानीमा रिपोर्टस क्लवले बुधवार आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

  ‘जनताबाट पराजित भएपछि विदेशी दूतावासमा गएर भात खादैँ पहाडबाट मधेस अलग गर्ने योजना बनाउने नेताहरुले राष्ट्रियता र मधेसको कुरा गर्न सुहाउँदैन,’ रावलले भने, ‘सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोकिन्न ।’ उनले संविधान संशोधन नभई हुँदैन भन्दै सानो संख्यामा रहेको मधेसी र्चालाई नमस्कार गरेर बसे सरकारको औचित्यसमेत समाप्त हुने चेतावनी दिए ।

संविधान सभाको दोस्रो निर्वाचनमा मोहन वैद्यहरु निर्वाचन वहिष्कार गर्दा पनि निर्वाचन भएको स्मरण गराउँदै भने– ‘मेधेसका दुई–चार जना ठालूले भन्दैमा निर्वाचन रोकिदैन, अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ, संविधान सभाको निर्वाचन गरे जस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प छैन् ।’ उनले विर्वाचन नभए देश समस्यामा पर्ने चेतावनी पनि दिए ।

रावलले गएको पुस १९ गते पटनामा सिके राउत, ज्वाला सिंह, गोहित र केही पत्रकारहरुले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफू थाह पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको तर उनले हल्का ढंगले दिएको आरोप पनि लगाए ।  ‘नेपालकै प्रधानमन्त्री होलान् भनेर देशका लागि चासो व्यक्त गरेँ तर उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर म विरुद्ध झुटको खेती गरिरहेका छन्,’ उनले भने ।

रावलले संविधान संशोधन निर्वाचन गर्नका लागि आवश्यक नभएको भन्दै मधेसी मोर्चाका नेताहरुलाई तराइ मधेशका जनताप्रति विश्वास भए आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए । ‘मधेसी नेताको हिम्मत छ भने,आउनुस् चुनावमा जाऔँ,’ रावलले चुनौतीको भाषामा भने, ‘मधेसमा नेताहरुलाई थाहा होला हाम्रो पार्टीले मधेसबाट ४० सिट जितेको छ ।’

मधेसी मोर्चाका नेताले रावललाई जेल हाल्नुपर्छ भन्ने धम्की दिइरहेको प्रति संकेत गर्दै रावलले भने– ‘जेल मलाई होइन राष्ट्रघाती काम गर्ने मधेसी नेताहरुलाई हाल्नुपर्छ । विदेशी दूतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा गर्ने उनीहरुलाई नेपालको कानुन अनुसार जेल हाल्नुपर्छ । उनले सरकारलाई पनि चुनौतीको भाषामा भने–‘यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने उनीहरुलाई जेल हालोस् ।’

प्रतिक्रिया दिनुहोस्