‘बाह्य शक्तिको दबाबमा आएकाले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौँ ’


१ माघ । संविधान संशोधन प्रस्ताव जसरी पनि पास गर्ने रणनीतिमा सरकार लागि रहेका बेला नेकपा (एमाले)ले भने प्रस्ताव कुनै हालतमा पास गर्न नदिने चेतावनी दिएको छ ।  एमाले उपाध्यक्ष भीम रावलले यस्तो चेतावनी दिएका हुन् । उनले सरकारले सदनमा टेबल गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल नहुने दाबीसमेत गरे ।

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति स्याङ्जाले आयोजना गरेको संविधानको कार्यान्वयनमा जनपरिचालन अभियानलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । उनले मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको दाबी पनि गरे ।

‘संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने कुरा आफैँमा प्रस्ट छैन,’ उनले भने, ‘संविधान संशोधन प्रस्ताव नेपालको राष्ट्रिय हितमा नभई बाह्य शक्तिको दबाबमा आएकाले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौँ ।’

सरकारले अहिले संविधानको कार्यान्वयनका लागि निर्वाचनको मिति तय गर्नुपर्ने बेलामा उदासीनता देखाएर संविधान संशोधनको प्रस्ताव गरेर बेमौसमको बाजा बजाएको उनको आरोप थियो ।  उनले नेपाली कांग्रेसले माओवादी केन्द्रलाई साथमा लिई संविधान संशोधनको कुरा उठाएर देशमाथि घात गरेको पनि उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्