‘प्रचण्ड र शेरबहादुरजी सहमत हुनुहुन्छ, लोकमानलाई हटाउँछौँ’


८ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउन संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावका एक नम्बर हस्ताक्षरकर्ता एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पदीय दुरुपयोग, आर्थिक चलखेल, प्रतिशोधपूर्ण व्यवहार र सामन्ती चरित्र देखाउने कार्कीलाई पदबाट हटाइने स्पष्ट पारेका छन् । आज भियतनाम जानुअघि बरिष्ठ नेता नेपालले विमानस्थलमा भने, ‘यस विषयमा कुराकानी भएको छ, अब उनी त्यही पदमा बस्न सक्दैनन् ।’

महाअभियोगका बारेमा आफूले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैजनासँग कुराकानी गरिसकेको उल्लेख गर्दै उनले भने, ‘प्रचण्डजी तयार हुनुहुन्छ । त्यत्रो खतरा मोल्नुभएको छ । शेरबहादुरजीलाई पार्टीभित्र केही अप्ठेरो छ । तर, उहाँ पनि तयार हुनुहुन्छ ।’

लोकमानलाई ल्याउनु गल्ती थियो

बरिष्ठ नेता नेपालले लोकमानसिंह कार्कीलाई अख्तियार जस्तो निकायमा ल्याउनु नै गल्ती भएको बताए । उनले भने, ‘मैले त्यतिबेला पनि भनेको हुँ– यिनलाई अख्यितारमा नियुक्त नगरौँ । आखिर अहिले सबैलाई थाहा भयो ।’ कार्कीलाई अख्तियारमा नियुक्त गर्नका लागि के कुराले काम गरेको थियो त ? भन्ने प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘अरु कुराका अलावा नेताहरुमा उनका बारेमा रहेको भ्रमले काम गरेको हुनुपर्छ ।’ त्यसको व्याख्या गर्दै उनले भने, ‘नेताहरुसँग उनले मीठा कुरा गरे, पैसाको चलखेल गर्दिनँ भने, सदाचार कायम गर्छु भने । नेताहरुले पनि त्यही कुरा पत्याए ।’

लोकमानका पक्षमा लाग्ने सकिन्छ

पूर्वप्रधानमन्त्री नेपालले लोकमान सिंहका गतिविधिहरुले सीमा नाघेपछि महाअभियोग प्रस्ताव ल्याइएको स्पष्ट पार्दै जो उनलाई बचाउन लाग्छ, त्यो समाप्त हुने ठोकुवा गरे । उनले भने, ‘जजसले लोकमानलाई बचाउन खोजिरहेका छन्, जनमानसमा तिनीहरुको छवि झन् खराब भइरहेको छ, तिनीहरु समाप्त हुनेछन् ।’

सरकार फेरबदलसँग साइनो छैन

एमाले बरिष्ठ नेता नेपालले महाअभियोग प्रस्तावलाई विषयान्तर गर्नका लागि यसलाई सरकार फेरबदलसँग जोडेर प्रचार गर्न खोजिएको टिप्पणी गरे । उनले भने, ‘कतिपयले महाअभियोग प्रस्तावलाई सरकार फेरबदलसँग जोडेर प्रचार गर्ने गरेका छन्, जुन गलत हो । मैले शेरबहादुरजीलाई पनि यो कुरा प्रस्ट पारेको छु ।’

लोकमानलाई बचाउन नेताबारे कुप्रचार

अख्तियार प्रमुख कार्कीले कतिपय नेताहरुलाई समाप्न खोजेका कारण उनका विरुद्धमा हठात् प्रस्ताव ल्याइएको भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा बरिष्ठ नेता नेपालले भने, ‘यो लोकमानलाई बचाउने तर्क हो । उनले अदालतको आदेश मानेको भए, शक्तिको दुरुपयोग नगरेको भए, १३ पाने आतंक नमच्चाएको भए र व्यक्तिगत प्रतिशोध नसाँधेको भए उनीमाथि यस्तो प्रस्ताव ल्याउनै पर्ने थिएन ।’

प्रतिक्रिया दिनुहोस्