प्रचण्ड सरकारका सय दिन पूर्णरुपमा असफलः भीम रावल


२८ कात्तिक । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सबै राजनीतिक दलले संविधान कार्यन्वयनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको आयोजनामा अछाम सदरमुकाम मंगलसेनमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले संविधान कार्यान्वयन नै पहिलो प्राथमिकता भएकाले अन्य बखेडा झिकेर देशलाई असफल बनाउने बाटोमा धकेल्नु नहुने् उनको सुझाव थियो । उनले संविधान संशोधनमा एमालेसँग सहमति भैसकेको भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइलाई हल्लाको समेत संज्ञा दिए । उनले त्यो निराधार हल्ला भएको दाबी पनि गरे । ‘अंगीकृत नागरिकलाई राज्यका प्रमुख पदमा ल्याउने, जनतालाई भड्काउन सीमाना हेरफेर गर्ने, संविधान कार्यान्वयनको कार्यतालिका नल्याउने कार्य राष्ट्रलाई अधोगतितर्फ धकेल्ने षडयन्त्रका नमूना हुन,’ उनले भने ।

उपाध्यक्ष रावलले एमाले सरकारमा रहँदा निर्वाचनको कार्यतालिका ल्याएको स्मरण गराउँदै भने– ‘तर अहिलेको सरकारले यसमा केही पनि प्रक्रिया अघि बढाएको छैन ।’ उनले नेपाली कांग्रेस अहिले स्थानीय तहको चुनाव नगराउने खेलमा लागेको आरोप लगाए ।

पूर्वउपप्रधान तथा रक्षा मन्त्रीसमेत रहेको नेता रावलले छिमेकसँग कुटनीतिक सम्बन्ध कायम गर्ने, भुकम्प पीडितलाई राहत दिने जस्ता कुरामा पनि सरकार चुकेको आरोप लगाए ।

सरकारका एक सय दिन पूर्णरुपमा असफल भएको भन्दै उनले सरकार समस्या बल्झिदै गएको आरोप पनि लगाए । नेपाली कांग्रेसका सभापतिले नेपालले पहिलेदेखि नै अवलम्बन गर्दै आएको एक चीन नीतिकाबिरुद्ध काम गरेको र यसले देशलाई नै अप्ठेरो पार्ने काम गरेको पनि आरोप लगाए ।  टेकराज भण्डारी

प्रतिक्रिया दिनुहोस्