प्रचण्ड सरकारले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको दबाब


भदौ । नेकपा (एमाले)ले तत्कालका लागि नेकपा माओवादी केन्द्रसँग एकता गरेर अघि बढ्ने सम्भावना नरहेको दाबी गरेको छ । एमाले मुख्यालय धुम्वाराहीमा एमाले स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी महासचिव ईश्वर पोख्रेलले यस्तो दाबी गरेका हुन् ।

‘एमाले मुद्धा र एजेण्डामा केन्द्रित भएर अघि बढ्छ,’ महासचिव पोख्रेलले भने, ‘अहिले माओवादी जुन ‘मिसन’का साथ अघि बढेको छ । यो अवस्थामा माओवादीसँग तत्कालका लागि गठबन्धन गरेर अघि बढ्ने सम्भावना निकै कम छ ।’ महासचिव पोख्रेलले देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर एमाले अघि बढ्ने भएकाले माओवादीसँग कुनै बेला एजेण्डा र मुद्धा मिले फेरि गठबन्धन गर्न सकिने दाबी गरे ।

वर्तमान सरकार कुटनीतिक मर्यादा विपरित

एमालेले कांग्रेस–माओवादी गथठबन्धनको सरकार कुटनीतिक मर्यादा विपरित चलेको समेत आरोप लगाएको छ । परराष्ट्रमन्त्री समेत नियुक्त नभएको अवस्थामा प्रचण्ड नेतृत्वको सरकारले दुई छिमेकी देश चीन र भारतमा विशेषदूत पठाएको भन्दै त्यसको समेत विरोध गरेको छ । ‘सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदैन सामान्य कुटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी हालै दुई छिमेकी देशहरुमा प्रधानमन्त्रीले विशेषदूत खटाउने काम भएको छ,’ एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘संविधानमा संशोधनलगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएको चर्चा सार्वजनिक भएको छ । यस्तो कार्यले नेपालको स्वाधिनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्याएको छ ।’

भट्टराईले त्यस्तो कार्यले आन्तरिक मामिलामा अवाञ्चित बाह्रय चासो निम्त्याउने त्रूटिपूर्ण कार्य भएको भन्दै बैठकले प्रधानमन्त्रीले पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको जानकारी दिए ।

पार्टीभित्र गुटवन्धी छैन

पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले स्थायी कमिटी बैठकले पार्टी भित्र भएका सामान्य अन्तरविरोधलाई समेत हल गरेको भन्दै अब पार्टी एकढिक्का भएर अघि बढेको जानकारी दिए । ‘पार्टी भित्र सामान्य अन्तरविरोध छ भन्ने कुरा बाहिर पनि अलिअलि चर्चा हुने गरेकै हो,’ उनले भने ‘अब ती सबै समस्या सकिए । पार्टी एक ढिक्का भएर अघि बढ्छ ।’

एमाले चुक्दैन झुक्दैन

कार्यक्रममा बोल्दै सचिव भट्टराईले एमाले देश र जनताका लागि सकैसँग नचुक्ने नझुक्ने दाबी गरे । ‘एमालेले लिएका नीति, विचार र सिद्धान्त देश निर्माणका लागि हुन्,’ उनले भने, ‘यो सन्दर्भमा एमाले कसैसँग चुक्दैन र झुक्दैन पनि ।

प्रतिक्रिया दिनुहोस्