प्रतिवेदनमाथिको छलफल सकियो, के–के छन् अध्यक्ष ओलीलाई सुझाव ?


६ असोज । बुधबारबाट सुरु नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बिहीबार पनि जारी छ । एमाले मुख्यालय धुम्बाराहीमा बुधबारबाट जारी सातौँ केन्द्रीय कमिटी बैठकमा टोली नेताहरुले बिहीबारबाट आफ्ना धारणा राख्न सुरु गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँटसहित केन्द्रीय कमिटी सदस्यका नौवटा समुह बनाइएको थियो । ती नौवटै समूहका टोली नेताले आफ्नो समूहमा उठेका विषयबारे बैठकमा जानकारी गराउन सुरु गरेका छन् ।

३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले प्रचण्डले राजनीतिक बेइमानी गरेको, भारतीय नाकाबन्दी इतिहासकै विडम्बना भएको, कांग्रेसलाई राष्ट्रपति नदिनुको कारण, छिमेकसँगको सम्बन्ध आदि विषयलाई समावेश गरेका छन् । अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूूहगत छलफलमा मिश्रित सुझाव आएको बुझिएको छ ।

समूहगत छलफलमा सहभागी एक नेताका अनुसार प्रतिवेदनले सरकारको मात्र प्रशंसा गरेको, गुटबन्धी अन्त्य गर्ने भनिए पनि ठोस कार्ययोजना प्रतिवेदनमा समावेश नगरेको, कांग्रेस–माओवादी गठबन्धन राष्ट्रघाती भनिए पनि त्यसलाई तोड्नका लागि प्रतिवेदनमा खास योजना नआएको जस्ता विषयलाई उठाएका छन् । ‘गुटबन्दीको अन्त्य गर्ने भनिएको छ,’ ती केन्द्रीय सदस्यले भने ‘तर कार्ययोजना नै छैन ।’ उनले गठबन्धन तोड्ने विषयमा पनि अध्यक्षको प्रतिवेदन अपूरो रहेको प्रतिक्रिया दिए ।

जारी बैठकमा स्थानीय निकायको पुर्नसंरचना, पार्टी प्रवेशको व्यवस्थापन, प्रदेश कमिटी, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको मनोनयन, केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटीको निर्णयहरुको अनुमोदन र केन्द्रीय आयोगका प्रतिवेदनका बारेमा पनि छलफल हुने छ ।

को–को छन् टोली नेता ?
प्रदेश एकबाट जगन्नाथ खतिवडा, दुईबाट प्रलाद गिरी, तीनबाट अरुण नेपाल, चारबाट जगत विश्वकर्मा, पाँचबाट बैजनाथ चौधरी, छ बाट एमलाल कँडेल, सातबाट निरा जैरु, विभागको तर्फबाट रचना खड्का र मोर्चा संगठनको तर्फबाट विश्वनाथ प्याकुरेल रहेका छन् । उनीहरु सबैले बिहीबार नै समूहमा उठेका सुझाव बैठकमा राख्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्