प्रदीप ज्ञवालीको कढा प्रतिक्रिया– ‘नेपाललाई फिजी बनाउँने षडयन्त्रलाई एमालेले रोक्छ’


९ मंसिर । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले  कसैको पदका लागि राष्ट्रलाई बलि दिन नसकिने बताएका छन् ।  प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । उनले अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा भएको पनि बताए ।

उनले संविधान संशोधनका नाममा नेपाललाई फिजी बनाउने षडयन्त्र भइरहेकाले त्यसविरुद्ध एकजुट हुन आह्वान पनि गरे ।  संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर सर्वस्वीकार्यता नहुने भन्दै उनले संविधानमा प्वाल पारेर निर्वाचन हुन नदिई अवाञ्छित स्वार्थ लाद्न खोज्ने दिनको पर्खाइ रहेकासँग सतर्क हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापा, चौतारीका अध्यक्ष गणेश बस्नेत, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालालगायतले पनि बोलेका थिए ।

कार्यक्रममा शाखाले रु पाँच हजार एक राशिसहितको पुरस्कार ‘द राइजिङ नेपाल’का सम्पादक परमेश्वर देवकोटालाई प्रदान गरेको थियो भने संस्थानका नवनिर्वाचित अध्यक्ष गोविन्द पोखरेललाई सम्मान गरेको थियो । शाखाका निवर्तमान अध्यक्ष अजय शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, गोरखापत्र शाखाका अध्यक्ष नारद गौतम र चौतारीका सो शाखाका इन्चार्ज प्रकाश सिलवाल लगायतले अधिवेशन सफलताको कामना गरे ।

अधिवेशनले  पत्रकार धातृप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा ऋतुराज सुवेदी, सचिवमा नगेन्द्र सापकोटा, कोषाध्यक्षमा अर्पणा अधिकारी तथा सदस्यमा प्रकृति अधिकारी, दीपक श्रेष्ठ र बिनु श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्