प्रदीप ज्ञवालीको खुलासा, ‘नेपाललाई विखण्डन गर्ने माओवादीको पूरानै एजेण्डा हो’


१० पुस । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्र समेत कुनै समय नेपाललाई बहुराष्ट्रिय बनाउने योजनामा रहेको खुलासा गरेका छन् ।

आइतबार एमाले मुख्यालय धुम्वाराहीमा एमालेका जनवर्गीय संगठनका प्रतिनिधिहरुसँगको छलफलमा उनले यस्तो खुलासा गरेका हुन् । ‘अन्तरिम संविधान जारी गर्ने बेलामा म पनि त्यसको सदस्य थिएँ,’ ज्ञवालीले भने, ‘त्यतिबेला माओवादीलाई ‘नेपाल एक राष्ट्र हो’ भन्ने सहमति गराउन घण्टौँ छलफल गर्नु परेको थियो ।’

ज्ञवालीले त्यतिबेला माओवादी नेपाल एक राष्ट्र होइन भन्ने पक्षमा रहेको आरोप लगाए । ‘हामीले त्यतिबेला पनि जवरजस्ती अन्तरिम संविधानमा नेपाल बुहजाती, भाषा र संस्कृति भएको एक राष्ट्र हुनेछ भन्ने कुरा राख्न सफल भएका थियौँ, ‘अहिले संविधानमा त्यो कुरा झन् प्रष्ट भएर आएको छ ।’

उनले माओवादी अहिले पनि कसैसँग गरेका बाचा–कबुल पूरा गर्न देशलाई नै विखण्डन गर्ने खेलोमेलोमा लागेको आरोप लगाए । ‘प्रचण्डजीलाई कसैसँग गरेको बाचा–कबुल पूरा गर्नुपर्ने भएकाले अहिले पास नहुने संविधान संशोधनको प्रस्ताव ल्याउनु भएको छ,’ उनले भने, ‘हामीले उहाँलाई ठीक ठाउँमा ल्याउन एक धक्का दिन जरुरी छ । पुस २२ को प्रदर्शनले एक धक्का दिने छ ।’

अंगीकृतवालालाई राष्ट्रप्रति, प्रधानमन्त्री, सभामुख जस्ता महत्वपूर्ण स्थान दिने गरी प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव ल्याउने तयारी अन्तिम समयमा असफल भएको स्मरण गराउँदै  ज्ञवालीले भने– ‘अहिलेको प्रस्ताव कालान्तरमा देश विभाजन गर्ने नियतले आएको हो । त्यसलाई हामी राष्ट्रवादीहरुले स्वीकार गर्न सक्दैनौँ ।’  उनले संशोधन प्रस्ताव खारेजी नभएसम्म एमालेले आन्दोलन जारी राख्ने पनि चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्