प्रदीप ज्ञवालीले देखेका कांग्रेसका तीन र मधेसवादी दलका दुई गल्ती


११ असार । अहिले नेपाली कांग्रेसले जे–जस्ता अरोप लगाए पनि मूख्य गरेर त्यस दलका तीन कमजोरीका कारण संविधान कार्यान्वयनमा ढिलाई वा अवरोध भइको छ ।

पहिलो गल्तीः पहिलो गल्ती गत साल जेठ २५ गते भएको भद्र सहमतिलाई नेपाली कांग्रेसले गरेको तोड्ने काम गरेको छ । त्यो भद्र सहमतिलाई तोडेर नेपाली कांग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नै दलका नेता स्व. सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आफुलाई प्रमुख प्रतिपक्षीका रुपमा उभ्याउने काम गर्‍यो ।

नेपाली कांग्रेसले भद्र सहमति तोड्नु हुने थिएन । यदि कांग्रेसले त्यो भद्र सहमति नतोडेको भए अहिलेको राजनीतिक अवस्था यस्तो हुने थिएन ।

दोस्रो गल्तीः प्रधानमन्त्रीको निर्वाचनपछि फेरि राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन भयो । ती निर्वाचनमा पनि नेपाली कांग्रेसले सहमतिलाई तोड्दै बृहत छलफल नै नगरी आफ्नो तर्फबाट उम्मेदवार चयन गर्‍यो । सहमतिको राजनीतिलाई नेपाली कांग्रेसले त्यहाँ पनि भाँजो हाल्ने काम गर्‍यो ।

तेस्रो गल्तीः यी सबै गल्ती र कमजोरीबाट पाठ सिक्दै नेपाली कांग्रेस सच्चिएर अघि बढ्नु पर्ने थियो । तर, त्यसो गर्न सकेन । पछिल्लो समय फेरि नेपाली कांग्रेसले आफ्नो सनातनी चरित्र देखायो ।

अझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवामाथि लाग्ने गरेको ‘सत्ताका लागि देउवा जस्तासुकै गलत कदम चाल्न पनि पछि पर्दैनन्’ आरोपलाई स्वयम् उहाँले नै प्रमाणित गरेर देखाउनुभयो । उहाँ (देउवा)ले नाटकीय ढंगले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सत्ता परिवर्तनको खेलमा लाग्नुभयो ।

मूख्य गरेर यी तीन गल्तीका कारण अहिले नेपाली राजनीति अन्योलको भूमरीमा फस्दै गएको छ । सायद यो कुराको बोध नेपाली कांग्रेसले पनि महसुश गरेको होला भन्ने मैले ठानेको छु ।

अझै पनि नेकपा (एमाले)को प्रयास कांग्रेसलाई पनि सहमतिमा ल्याएर राष्ट्रिय सहमतिको सरकार बनाउने भन्नेमै केन्द्रित छ ।

मधेसकेन्द्रित दलका दुई गल्ती

मधेसकेन्द्रित दलका अधिकांश माग सम्बोधन भैसकेका छन् । सीमांकनको बिवाद मिलाउन समिति बनेको छ । त्यसलाई पूर्णता दिन बाँकी छ । प्रधानमन्त्री स्वयमले पनि उहाँहरुका जायज, उपयुक्त र सम्भव हुने मागलाई पूरा गर्न सरकार तयार रहेको पटक–पटक भन्दै आउनु भएको छ ।

तर, मधेस केन्द्रित दलहरु अहिले दोधारमा हुनुहुन्छ । उहाँहरु आन्दोलनका मुद्धालाई चुनावसम्म तन्काएर लैजाने अथवा अहिले नै टुङ्याउने भन्नेमा सबै भन्दा बढी दुविधामा हुनुहुन्छ । त्योसँगै उहाँहरु मधेसी मोर्चाकै नाममा आन्दोलन गर्ने कि संघीय लोकतान्त्रिक गठबन्धलाई आधार बनाएर आन्दोलनमा जाने भन्नेमा पनि दुविधामा हुनुहुन्छ ।

अर्को उहाँहरु अहिले पनि असंभव माग राखेर संविधान कार्यान्वयनमा अवरोध गर्ने मनस्थितिमा हुनुहुन्छ । उहाँहरुको त्यो मनस्थितिका कारण जनताले ल्याएको संविधान कार्यान्वयमा अवरोध भएको छ ।  (कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्