प्रदेश इन्चार्ज र अध्यक्ष टुंग्याउन बालुवाटारमा बैठक जारी, को–को छन् दाबेदार ? (सूचिसहित)


काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रदेश, जिल्ला र जनसंगठन एकीकरणका विषयमा मापदण्ड तय गर्न बोलाइएको बैठकमा कम्तीमा प्रदेश तहको एकीकरण आजै टुंगो लगाउनेगरी छलफल जारी रहेको एक सचिवालय सदस्यले बताए ।
प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेकाले नेकपाले आज बिहान ८ बजे बालुवाटारमा सचिवालय बैठक बोलाएको थियो । बैठकमा प्रदेशका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिवको नाम प्रस्तावसम्बन्धि गृहकार्यका लागि विहिबार अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमै छलफल भएको थियो ।

यी हुन् सात प्रदेशका २८ दाबेदार नेता
सातैवटा प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ जनाको नाम प्रस्ताव गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिइएको छ । एमाले र माओवादी दुवै पक्षको सन्तुलन मिलाउने गरी उनीहरूले ती २८ नाम तयार गर्ने सहमति भएको छ । एउटा पक्षको इन्चार्ज भएको ठाउँमा अर्को पक्षको अध्यक्ष रहने गरी प्रदेश कमिटी बनाउने सहमति भएको छ । प्रदेश नं। १, ३, गण्डकी र ७ मा एमाले र प्रदेश नं। २, ५ र कर्णालीमा माओवादी पक्षले अध्यक्ष लिने सहमति भइसकेको छ । यही आधारमा नेताहरूले पद बाँडफाँट गरेर व्यक्तिलाई जिम्मेवारी दिने तयारी गरिरहेका छन् ।
स्रोतका अनुसार प्रदेश नम्बर १ को इन्चार्जमा भीम आचार्यको मात्र नाम छ भने सहइन्चार्जमा राम कार्कीबारे छलफल भइरहेको छ । अध्यक्षमा एमालेका पुराना दुई नेता देवराज घिमिरे र घनेन्द्र बस्नेतले इच्छा गरे पनि दुवै जना कामकाजी नभएकोमा नेताहरू सहमत छन् । त्यसो हुँदा जगन्नाथ खतिवडाको सम्भावना छ ।
प्रदेश नं। २ को इन्चार्जमा एमालेतर्फबाट सत्यनारायण मण्डल र माओवादी तर्फबाट गणेश शाहको नाम आइरहेको छ । सहइन्चार्जमा सम्भवतः नागेन्द्र चौधरी हुनेछन् । अध्यक्षमा प्रभु शाह र शघुधन महतोमध्ये एकलाई जिम्मा दिइनेछ । तर, त्यहाँ विवाद भएका कारण प्रदेश र जिल्ला कमिटीकै नामावली केन्द्रमा पेस हुन सकेको छैन ।
प्रदेश नं। ३ मा चाहिँ मोटोमाटी टुंगिएको छ । इन्चार्जमा अष्टलक्ष्मी शाक्य, सहन्चार्जमा अग्निप्रसाद सापकोटा, अध्यक्षमा काशीनाथ अधिकारी र सचिवमा नारायण दाहाल गरेर टुंग्याउन नेताहरू सहमत भएका छन् ।
गण्डकी प्रदेशमा चाहिँ देवेन्द्र पौडेल इन्चार्जका एक्ला दाबेदार देखिएका छन् । स्थायी समितिबाट इन्चार्ज पठाइने भएकाले अरू नेता दाबेदार छैनन् । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री र किरण गुरुङ अर्थमन्त्री भएकाले पौडेललाई सजिलो भएको छ । सहइन्चार्जमा खगराज अधिकारी, अध्यक्षमा हरिराज अधिकारी वा हितराज पाण्डे र सचिवमा तुलबहादुर गुरुङको सम्भावना औंल्याइएको छ ।
प्रदेश नं। ५ को इन्चार्जका लागि रस्साकस्सी छ । मुख्यमन्त्री भए पनि शंकर पोखरेलले इन्चार्ज हुने रहर गरेका छन् । तर, नाम सिफारिस गर्दा एकपक्षीय गरेर पार्टीमा विवादको बीजारोपण गरेका उनलाई पार्टीभित्रका अरू नेताहरूले स्वीकार गर्ने पटक्कै सम्भावना छैन भने अर्का नेता घनश्याम भुसाललाई पनि इन्चार्ज बन्न दिने सम्भावना कम छ । युवराज ज्ञवालीले पनि प्रदेश नं। ५ को इन्चार्ज हुने रहर गरेका छन् । तर, इन्चार्जमा बेदुराम भुसाल वा छविलाल विश्वकर्मामध्ये एक, सइइन्चार्जमा मणि थापा, अध्यक्षमा गणेशमान पुन र सचिवमा खिमलाल भट्टराईको सम्भावना छ ।
कर्णाली प्रदेशको इन्चार्जका लागि जनार्दन शर्माको नाम सर्वसम्मत जस्तै भए पनि उनले आफू संगठन विभाग प्रमुख बनेर केन्द्रमै बस्ने चाहना गरेका कारण युवराज ज्ञवालीलाई नै पठाइने सम्भावना छ । त्यसो हुँदा सहइन्चार्जमा कालीबहादुर मल्ल, अध्यक्षमा मायाप्रसाद शर्मा र सचिवमा यामलाल कँडेल वा गोरखबहादुर बोगटीको सम्भावना छ ।
प्रदेश नं। ७ मा भने सबै टुंगिएको छ । इन्चार्ज भीम रावल, सहइन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्णबहादुर थापा र सचिव लक्ष्मण पन्त हुने गरी यसअघि नै सहमति भइसकेको छ ।
दुई अध्यक्षले प्रस्ताव तयारी गरी सचिवालय र स्थायी समितिमा पेस गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्