प्रदेश नम्बर दुईमा समेत मधेसी नेता मूख्यमन्त्री नबन्ने सम्भावना छः सुरेन्द्र पाण्डे


१६ माघ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सरेन्द्र पाण्डेले प्रदेश नम्बर पाँच पहाडबाट अलग गर्नुपर्छ भन्ने मधेसी मोर्चाको माग अपरिपक्क भएको बताएका छन् । पहिलो न्युज डटकमसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘पहाडबाट प्रदेश अलग गर्ने वित्तिकै त्यहाँ मधेसी नेता नै मूख्यमन्त्री बन्ने कुनै ज्ञारेण्टी छैन,’ उनले भने, ‘प्रदेश नम्बर दुई अहिले तराई–मधेसका मात्र जिल्ला रहेका छन् । त्यो प्रदेशमै पनि मधेसी नेता मुख्यमन्त्री बन्ने कुनै ज्ञारेण्टी छैन ।’

उनले मधेसी मोर्चाबीच विभाजन हुने र गैरमार्चाबीच एलाइन्स हुने हो भने त्यो प्रदेशमा समेत मधेसी नभएर पहाडी नेता मूख्यमन्त्री बन्ने सम्भावना रहेको दाबी गरे । ‘अहिले मोर्चाका नेताहरु साँधुरो सोँचले पहाडबाट अलग प्रदेश बनाउने कुरा गरिरहनु भएको छ,’ उनल भने, ‘देश चल्ने अर्थतन्त्रले हो, भूगोलले होइन । प्रदेश पनि त्यही हो ।’

उनले मधेस अन्नको भण्डार मात्र भएको भन्दै पहाडमा खानी, बन, जलस्रोत, जडिबुटी सबै भएकाले पहाड विनाको तराई प्रदेश चल्न नसक्ने ठोकुवा गरे । उनले विश्वमै सबै भन्दा हेपिएको क्षेत्र कृषि भएको भन्दै तराईले कृषिको भण्डार छ भनेर पहाडसँग अलग गर्ने चेष्टा गर्ने हो भने घातक हुने दाबी पनि गरे ।

उनले कुराकानीका क्रममा समयमा निर्वाचन हुनेमा कुनै शंका नरहेको पनि दाबी गरे । यदि निर्धारित मितिमा निर्वाचन भएन भने पनि त्यस्तो उत्पाद केही नहुने पनि उनको भनाइ छ । ‘समयमा निर्वाचन हुन्छ, त्यसमा कुनै शंका छैन,’ उनले भने, ‘यदि भएन भने पनि देशमा त्यस्तो केही उत्पाद हुँदैन । राजा मरेर राज्य शून्य हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्