प्रदेश नम्बर–४ को सीमांकन हेरफेर हुँदैनः केपी ओली


११ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ४ नं प्रदेशलाई कुनै पनि हालतमा टुक्र्याउन नहुने बताएका छन् ।  तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइ समितिद्वारा भिमादमा आयोजित प्रथम भिमाद महोत्सव २०७३ को आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले बरु अन्य प्रदेशको कुनै भाग गाभ्न भने सकिने बताए । खैरेनीटारदेखि नवलपरासीको कावासोती जोड्ने दुई दुई लेनको सडक तथा भिमाद पोखरा हुँदै जोमसोमसम्म हुलाकी मार्ग निर्माण र केरुङ काठमाडौँ मार्ग खोल्न उनले जोड दिए । ‘तराईमा पूर्वपश्चिम विद्युतीय रेल चलाउन सकिन्छ,’ उनले भने, ‘विकासको गतिविधि बढेसँगै रोजगारीको सिर्जना गर्न सकिने छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले हिमाल, पहाड र तराईलाई नछुट्याई जोडेर प्रदेश बनाउनुपर्ने बताए । नेता गुरुङले राजनीतिक दलका नेतामा पछिल्लो समय विलासिता बढेकाले त्यसलाई न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्