प्रदेश–१ मा पूर्व एमालेलाई १२२,माओवादीलाई ८५, कर्णालीमा हाराहारी


काठमाडौं, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले धमाधम प्रदेश कमिटी गठनको प्रस्ताव तयार पारेको छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठन एकीकरण टुंग्याउनेगरी केन्द्रले तोकेको समयसीमाभित्र कार्यदलहरुले धमाधम प्रदेश कमिटीको नामावली नयार पार्न थालेका हुन् ।
कर्णाली प्रदेशले पूर्व एमालेबाट ८७ र पूर्व माओवादीबाट ८८ जना कमिटीमा रहने नामावलीसहितको प्रतिवेदन शुक्रबार महासचिव विष्णु पौडेललाई बुझाएको छ । कार्यदलले केन्द्रीय सल्लाहाकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय निकाय र केन्द्रीय विभागका लागिसमेत नामावली सिफारिश गरेको छ । संख्या र नाम टुंगो लागिसकेकाले अब नेतृत्व मात्र टुंग्याउन बाँकी रहेको कार्यदल सदस्य मायानाथ शर्माले बताए ।

प्रदेशका १० जिल्लामध्ये पछिल्लो चुनावको जनमत र पार्टी सदस्य संख्याका आधारमा जिल्लाको नेतृत्व सकभर बराबरी हुनेगरी टुंग्याउने तयारी छ । शर्माले प्रदेशको संख्या टुंगो लागिसकेकाले जिल्लामा छलफल केन्द्रित भएको बताए । ‘सकभर तलै नेतृत्व पनि टुंग्याउने प्रयासमा छौं, टुंगिएन भने पनि माथि सिफारिश गर्छौं’ शर्माले भने । यो प्रदेशमा ५÷५ जिल्ला अध्यक्ष बाँडेर नेतृत्व टुंग्याउने तयारी छ ।

उता, प्रदेश नम्बर १ को २ सय ७ सदस्यीय कमिटीमा पूर्व एमालेबाट १ सय २२ र माओवादीबाट ८५ जना रहनेगरी संख्या र नाम टुंगो लागेको छ । गृहकार्य अन्तिम चरणमा पुगेकाले दुई दिनभित्र प्रदेश संगठन कमिटीमा रहने सदस्यहरुको नाम  सचिवालयलाई बुझाउने तयारी भइरहेको कार्यदल सदस्य भीम आचार्यले बताए । प्रदेश अध्यक्ष र सचिवका दाबेदारहरुको नामसहित प्रतिवेदन बुभाउने तयारी छ । प्रदेश कमिटी टुंगो लागेलगत्तै १४ जिल्लाको संख्या र नेतृत्वसहितको सिफारिश गर्ने तयारी छ । यीमध्ये तत्कालीन माओवादी केन्द्रले ठूला झापा, मोरङ र सुनसरीमध्ये एकसहित कम्तीमा ४ जिल्ला नेतृत्व दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्