प्रदेश २ मा पनि सभा गर्ने एमालेको निर्णय


७ चैत । भर्खरै मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रदेश नं २ का जिल्लामा पनि सभा गर्ने भएको छ ।

सबै प्रदेशमा अभियान सम्पन्न गरेपछि सोमबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । गत फागनु २१ बाट सुरु मेची–महाकाली राष्ट्रिय अभियान सप्तरीमा मधेसी मोर्चा र उसका कार्यकर्ताको उदण्ड शैलीका कारण प्रदेश नम्बर दुईका केही जिल्लामा गर्ने भनेको सभा रोकिएको थियो । सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेको एमालेले जानकारी दिएको छ ।

बैठकले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका जिल्लामा संविधान कार्यान्वयन, निर्वाचन राष्ट्रिय एकता र सद्भावको नारासहितको अभियान सञ्चालन गर्ने एमालेले जानकारी दिएको हो ।

बैठकले बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरुप्रति सजग रहन पनि आग्रह गरेको छ । बैठकले २०७४ वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन समेत गरेको छ । ‘निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहिता समेत जारी गरी लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति बैठकको गम्भीर ध्यानाकर्र्षण भएको छ । हाम्रो पार्टी निर्वाचन आचारसंहिता विपरीत यस्ता कार्यहरु तत्काल रोक्न सरकारस“ग माग गर्दछ । र, सरकारका यस्ता क्रियाकलापको कडाईका साथ अनुगमन गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

त्यसैगरी बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानहरुप्रति पुनः जोड दि“दै भनेको छ– ‘संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिहरुलाई आह्वान गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्