प्रधानन्याधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव, अधिनायकवादको प्रयासः योगेश भट्टराई


१७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले यसको खुलेर विरोध गरेको छ ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने कदम गलत भएको दाबी गरे । ‘सरकार अधिनायकवादी शासनतिर प्रेरित भएको छ भन्ने यसले संकेत गरेको छ,’ पहिलो न्युज डटकमसँग कुराकानी गर्दै भट्टराईले भने, ‘यो अधिनायकवादी कदम शुशीलमाथिको मात्र हमला होइन । देशमाथिको हमला हो ।’

उनले कार्की देशभक्त न्यायधीश भएको भन्दै उनको कार्यक्षमताको सबैले कदर गर्नुपर्नेमा जोड दिए । ‘उहाँ सक्षम न्यायधीश हुनुहुन्छ,’ उनले भने, ‘उहाँ सिङ्गो नेपाली महिलाको प्रतिनिधि पात्र पनि हो । न्यायलयलाई कठपुतली बनाउने काम सरकारले गरेको छ । यसको प्रतिकार जनताले गर्ने छन् ।’

उनले सरकार निर्वाचन हुन नदिने प्रयासमा लागेको भन्दै गरिहाले पनि सबै संयन्त्र कब्जा गरेर मात्र गर्ने नियत भएको आरोप लगाए । ‘चुनाव गरे पनि न्यायलय, प्रहरी प्रशासन, निर्वाचन आयोग सबैलाई कब्जामा ल्याएर गर्ने प्रयासमा सरकार लागेको छ,’ उनले भने, ‘यसका विरुद्ध लड्न सबैलाई आग्रह गर्छौ । महाअभियोग प्रस्ताव पास हुन दिदैँनौ असफल बनाउँछौँ ।’ उनले सरकार अधिनायकवादी प्रयास गर्दै अघि बढे जनविद्रोह हुन सक्ने चेतावनी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्