प्रधानन्यायाधीशमा अस्वीकृत जोशीमाथि महाअभियोगको कसरत


काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले सर्बोच्च अदालतका न्यायाधीश दिपकराज जोशीमाथि महाअभियोग दर्ता गर्ने तयारी गरेका छन् । संसदीय सुनुवाई समितिमा प्रधानन्यायाधीशका लागि अस्वीकृत जोशीले सर्र्बोच्चमा नैतिकताविपरित वरिष्ठतम न्यायाधीशका रुपमा जिम्मेवारी सम्हालेको आरोपमा सांसदहरुले महाअभियोगको तयारी गरेका हुन् ।
‘उनीमाथि ५ या ६ असोजमा संसदमा महाअभियोग दर्ता हुनसक्छ, समितिमा सदस्य रहेका नेकपाका एक प्रभावशाली सांसदले भने,‘अहिले संसदको बैठकमा ब्यस्त रहनु परेकाले अन्तिम तयारी गर्न भ्याइएको छैन, तर गृहकार्य धेरै अघि बढिसकेको छ ।’
प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्र नियुक्त भएपछि जोशीले नैतिकताका आधारमा राजीनामा दिने चर्चा चलेको थियो । तर, घरबिदामा रहेका जोशीले मिश्रलाई वरिष्ठतम न्यायाधीशको हैसियतमा स्वागत गर्दै पूर्ववत जिम्मेवारी सम्हालेपछि नेकपाका सांसदहरुले महाअभियोगको तयारी गरेका हुन् ।
संविधानअनुसार महाअभियोग दर्ताका लागि एक तिहाई सदस्यको हस्ताक्षर आवश्यक पर्छ भने पारित हुन दुई तिहाई मत आवश्यक पर्छ । संसदमा नेकपासहित सत्तारुढ दलहरुको दुई तिहाई बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्