प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष


काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ ।

१३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो । त्यस्तै, अर्को दिन हेमोडायलाइसिस गरेर उनलाई डिस्चार्ज गरिएको थियो । १७ दिनपछि शनिबार ग्रान्डीमै उनको अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा.डा. प्रेमराज ज्ञवालीले बताएका छन् ।

शरीरमा भएको बिकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलाइसिस गरिन्छ । तर, रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ ।

पिसाब कम भएको सिकायत भएपछि १३ कात्तिकमा उनलाई अस्पताल लगिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाबथैलीमा जाने नली ‘ब्लक’ भएको देखिएपछि तत्कालै ‘स्टेन्ट’ राखिएको थियो ।

मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा ‘स्टेन्ट’ राखेर खुलाउने गरिन्छ । सो ‘स्टेन्ट’ले काम गरे–नगरेको निश्चित गर्न ओलीलाई शनिबार अस्पताल लगिएको थियो । तर, यो पद्धति फलदायी नभएको निष्कर्षसहित शनिबार नै ‘स्टेन्ट’ निकालिएको छ ।

अस्पताल पुगेको वेला मिर्गौलाको स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव चिकित्सकहरूले राखेका थिए । तर, प्रधानमन्त्रीले ‘म स्वस्थ छु, अहिले कुनै परीक्षण गर्नुपर्दैन’ भन्दै थप परीक्षणमा अनिच्छा देखाएका थिए । तर, चिकित्सकले उनलाई सम्झाए, ‘तपाईंको स्वास्थ्य प्रतिकूल छैन, अस्पताल आएको वेला रगत जाँची हेरौँ, हानि केही हुँदैन ।’

रगतको रिपोर्ट भने प्रधानमन्त्रीले अपेक्षा गरे जस्तो आएन । क्रियाटिनिनको मात्रा बढेर ६.३ मिलिग्राम प्रतिशत पुगेको अस्पताल स्रोतले जनाएको छ । क्रियाटिनिनको मात्रा उच्च देखिएपछि उपचारमा संलग्न चिकित्सकले तत्कालै प्रधानमन्त्रीको हेमोडायलाइसिस सुरु गरेका थिए । तीन घण्टा हेमोडायलाइसिस गरेर प्रधानमन्त्री शनिबार नै बालुवाटार फर्किए ।

प्रधानमन्त्रीको क्रियाटिनिन ६.३ पुगेको हो भने मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्दै छ भन्ने बुझिने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए । ‘प्रधानमन्त्रीको उमेरअनुसार उहाँको मिर्गौलाले दश प्रतिशतभन्दा कम काम गरिरहेको देखिन्छ ।

६.३ क्रियाटिनिन देखिएमा अब मिर्गौलाले काम गरिरहन सक्ने अवस्था देखिएन । बिरामीको भलाइका लागि नियमित डायलाइसिसमा बस्नुपर्छ अथवा प्रत्यारोपणमा गइहाल्नुपर्छ । औषधि मात्रै खाएर बस्दा स्वास्थ्य राम्रो हुँदैन,’ डा. काफ्लेले भने ।

प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेका छन् । प्रत्यारोपण कहिले गर्ने र स्वदेशमा गर्ने कि विदेशमा भनेर छलफल भइरहेको छ । शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटक पटक जिज्ञासा राखेका छन् ।

चिकित्सकहरूले शतप्रतिशत भन्न नसकिने, तर विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका छन् । ‘हामी काठमाडौंमै प्रत्यारोपण गर्न सक्छौँ, अहिलेसम्म हामीले गरेका प्रत्यारोपण सफल छन्, प्रधानमन्त्रीले पनि यहीं उपचार गर्दा कुनै जोखिम हुँदैन, सफल भइन्छ र त्यसपछि उहाँ काममा फर्कन सक्नुहुन्छ भनेर हामीले विश्वास दिलाइरहेका छौं,’ उपचारमा संलग्न चिकित्सकले भने । उनीहरूको भनाइमा प्रधानमन्त्री विश्वस्त छन्, तर सल्लाहकारहरूले भने सकेसम्म विदेशमै गएर प्रत्यारोपण गर्न सुझाब दिइरहेका छन् ।

मिर्गौला कसले दिन सक्छन् ?
प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न चाहनेहरू भने धेरै छन् । तर, कानुनले परिवारजनबाट मात्रै मिर्गौला लिन मिल्ने निश्चित गरेको छ । परिवारभित्रैबाट मिर्गौला लिन पनि ओलीलाई असजिलो छैन । किनकी, ऐनले मिर्गौला दिन सक्ने आफन्तको फराकिलो दायरा बनाएको छ ।

अंगदान गर्न सक्ने परिवारका सदस्यमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू ससुरा पर्छन् । त्यस्तै, सौतेनी बाबु, सौतेनी आमा, ठूलो बुबा, ठूली आमा, काका, काकी, सानोबुबा, सानी आमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजू, बुहारी, मामा माइजू, भान्जाभान्जी, सालासाली, फुपूफुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठान पनि अंगदान दिन सक्ने नजिकको नातेदारभित्र समेटिएका छन् ।

अझ, नेपाल र भारत बाहिर गएर प्रत्यारोपण गरेमा मिर्गौला दान गर्ने व्यक्ति आफन्त पनि हुनुपर्दैन । ‘श्रीलंका, सिंगापुर, अमेरिकामा जो–कोही व्यक्तिले पनि अंग दिन पाउँछ । दोस्रो पटक प्रत्यारोपण गर्दैमा जोखिम धेरै हुन्छ भन्ने हुँदैन । अहिले प्रधानमन्त्रीलाई प्राप्त समय चुकाउनु हुँदैन, जतिसक्दो चाँडो प्रत्यारोपण गर्नुपर्छ,’ डा. काफ्ले भन्छन् ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, ‘दोस्रो पटक प्रत्यारोपण गर्दा जोखिम बढी हुने होइन
क्रियाटिनिन ६.३ देखिएमा अब मिर्गौलाले काम गरिरहन सक्ने अवस्था देखिएन । प्रधानमन्त्रीको उमेर (६८ वर्ष) अनुसार उहाँको मिर्गौलाले १० प्रतिशतभन्दा कम काम गरिरहेको देखिन्छ । बिरामीलाई राम्रो चाहने हो भने नियमित डायलाइसिसमा बस्नुपर्छ ।

अथवा प्रत्यारोपण गरिहाल्नु पर्छ । औषधि मात्रै खाएर बस्दा पनि स्वास्थ्य राम्रो हुँदैन । अन्यथा प्रत्यारोपण पनि सफल हुँदैन ।
डायलाइसिसमा ढिला गरे जोखिम बढ्दै जान्छ, संक्रमण हुन्छ र कमजोर गराउँछ । मुटु, फोक्सो, कलेजो ठीक भएन भने प्रत्यारोपण सफल नहुन सक्छ । डायलाइसिस धेरै झमेला काम हो, त्यसैले प्रत्यारोपण पनि छिटो गर्नुपर्छ । नेपालमा नातेदारबाहेकका व्यक्तिले मिर्गौला दिन पाउँदैनन् ।

भारतमा पनि कानुनी रूपमा नातेदारले मात्रै दिन पाउने व्यवस्था छ । श्रीलंका, सिंगापुर, अमेरिकामा जोकोही व्यक्तिले पनि अंग दिन पाउँछ । दोस्रोपटक प्रत्यारोपण गर्दैमा जोखिम धेरै हुन्छ भन्ने हुँदैन । अहिले प्रधानमन्त्रीलाई प्राप्त समय चुकाउनुहुँदैन, जति सक्दो चाँडो प्रत्यारोपण गर्नुपर्छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल
सरकारी

वीर अस्पताल
शिक्षण अस्पताल महाराजगन्ज
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
निजी

ग्रान्डी अस्पताल
निदान अस्पताल
सुमेरु अस्पताल
कलेज अफ मेडिकल साइन्सेस, भरतपुर
नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्