प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो


काठमाडौं, ११ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएसँगै उनलाई लगाइएको भेन्टिलेटर बुधबार विहानै हटाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शल्यक्रियापछि मंगलबार स्थिर देखिएको प्रधानमन्त्रीको स्वास्थ्यमा बुधबार उल्लेख्य सुधार आएको जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रेस सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीको हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिंदादेखि राखिएको भेन्टिलेटर आज (बुधबार) बिहान हटाइएको छ ।’ प्रधानमन्त्री ओली केहि समययता स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।

उनको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले समेत काम गर्न छाडेको छ । जसका कारण उनले नियमित डायलासिस गराउँदै आएका छन् । प्रधानमन्त्री ओलीको तेस्रो पटक मृगौलाको डायलासिस गरिसकिएको छ । प्रधानमन्त्रीको मृगौला पुनः प्रयारोपणका लागि समेत आवश्यक परामर्श भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्