कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न दिएन, सदन स्थगित


१० असार । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्मा बोल्नमा नदिएपछि उहाँ सिंहदरबार फर्किनुभएको छ । ११ बजेका लागि तय भएको प्रधानमन्त्रीको सम्बोधन तय भएकोमा कांग्रेसकै अवरोधका संसद्को बैठक बस्न सकेन ।

हिजो भूकम्पपीडितलाई दुई लाख रुपियाँ तत्कालै दिनुपर्ने भन्दै संसद्को बैठक अवरोध गरेको कांग्रेसले प्रधानमन्त्री ओलीबाट जवाफ आउनुपर्ने माग गरेको थियो । ‘प्रधानमन्त्री आज संसद्मा बोल्ने तयारीसहित ११ बजे नै संसद्मा आउनुभएको थियो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘तर, उहाँहरुले आफूले भनेको कुरा नमानेसम्म संसद् चल्न नदिने अडान लिनुभयो र प्रधानमन्त्री नबोलेरै फिर्ता हुनुभयो ।’

कांग्रेसले संसद्मा बोल्नुभन्दा पहिला प्रधानमन्त्रीले आफूसँग छलफल गर्नुपर्ने भनाइ राखेको थियो । सुरुमा प्रधानमन्त्री ओलीले ओलीको भनाइ थियो, ‘मैले संसद्लाई सम्बोधन गर्ने हो, कांग्रेसलाई होइन ।’

तर सदन सुचारु गराउन उहाँले कांग्रेसका नेताहरुलाई संसद् भवनस्थित आफ्नो च्याम्बरमा बोलाएर छलफल गरे पनि कांग्रेसले सदन चल्न नदिने अडान छाडेन । ‘दुई लाख पाउने घोषणा आजै हुनुपर्छ, हामीले भने अनुसार नै हुनुपर्छ’ भन्ने कांग्रेसले राखेको थाहा भएको छ । प्रधानमन्त्री ओलीले भूकम्पपीडितका लागि प्रक्रियासम्मत रुपमा रकम निकासा भइरहेका कारण त्यसमा अनावश्यक राजनीति नगर्न कांग्रेसका नेताहरुलाई आग्रह गर्नुभएको थियो । तर, कांग्रेसका नेताहरुले नमानेपछि आजको बैठक बस्न सकेन ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री विजय गच्छदार, कानुनमन्त्री अग्नि खरेल, प्रमुख सचेतक भानभुक्त ढकालसहित राखेर कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु प्रकाशमान सिंह, प्रकाशशरण महत, बालकृष्ण खाँडलगायतसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्