प्रधानमन्त्रीलाई योगेश भट्टराईको सुझावः ‘अनलाइन निर्देशिका स्थगित गर्नूस्’


९ असार । चौतर्फी आलोचना भइहरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिक–२०७३’ स्थगित गर्न नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

उनले विहीबार स्थायी समितिको बैठकमा ओलीलाई विवादित निर्देशिका तत्काल स्थगित गर्नु उपयुक्त हुने सुझाव दिएका हुन् ।

विहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकमा भट्टराईले सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले सञ्चार नीति बनाइरहेको र त्यो छलफलकै क्रममा रहेको सन्दर्भमा सरोकारवालाहरुसँग छलफल नगरी ल्याएको निर्देशिका स्थगित गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले बैठकमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल लगायत सबै सञ्चार संगठनहरु यसको बिरोधमा रहेको उल्लेख गर्दै गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यतासँग मेल नखाने निर्देशिका लागू गर्न उपयुक्त नहुने सुझाव राखे ।

विहीबार दिउसो प्रेस चौतारी नेपालले उनकै प्रमुख आतिथ्यमा विज्ञ, अग्रज पत्रकार र सरोकारवालाहरुसँग छलफल कार्यक्रम आयोजना गरेको थियो ।

छलफलमा प्रचार विभागका उपप्रमुख सूर्य थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, डा. कुन्दन अर्याल, राजेन्द अर्याल, गगन विष्ट, बिष्णु रिजाललगायत थिए ।

स्रोतका अनुसार भट्टराईले उनीहरुकै सुझाव र निष्कर्षका आधारमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

‘यो निर्देशिका जुन ऐन अन्र्तगत आएको छ, त्यो नै गलत छ,’ उनले भनेका थिए, ‘निर्देशिकाका कतिपय प्रावधानहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वातन्त्र पत्रकारिताको मान्यतासँग मेल खाँदैनन् ती प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यताविपरीत छन् । त्यस कारण यो स्थगित गर्नु नै ठीक हुन्छ ।’ उनको सुझाव पछि प्रधानमन्त्री ओलीले छलफल गरेर आवश्यक कदम चाल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्