प्रधानमन्त्रीले आज चीन भ्रमणबारे जानकारी गराउने


प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा आफ्नो चीन भ्रमणबारे जानकारी गराउने भएका छन् । ५ असारदेखि चीनको भ्रमण गरेका ओली आइतबार स्वदेश फर्केका थिए । सोमबारको प्रतिनिधिसभामा आफ्नो चीन भ्रमणबारे जानकारी गराउने भनिए पनि व्यस्तता र शारीरिक थकानका कारण प्रधानमन्त्री ओलीले मंगलबारका लागि सारिएको जनाइएको छ ।

चीन भ्रमणमा जानुअघि ४ असारमा संघीय संसद्का दुवै सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए । सोक्रममा उनले चीनसँग केही नयाँ नाका सञ्चालन गर्न छलफल गर्ने बताएका थिए । उनले भूकम्पपछि तातोपानी नाका बन्द भएको र हाल केरुङ नाका मात्रै सञ्चालनमा रहेकाले थप बाटो तथा करिडोरमा सहमति हुने सम्भावना रहेको जानकारी गराएका थिए ।

आफूले पहिलोपटक गरेको भ्रमणमा चीनसँग दूरगामी महत्वका सन्धि–सम्झौता गरेको भन्दै उनले चिनियाँ उच्च अधिकारीसँगको भेटमा व्यापार घाटा, रेल, प्रसारण लाइन, चिनियाँ सहयोग जुटाउनेलगायत विषयमा छलफल गर्ने प्रधानमन्त्रीले बताएका थिए ।

गृहमन्त्री नदेखेपछि कांग्रेसले ग-यो सदन अवरोध
गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित नभएपछि सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत शीर्षकमाथिको छलफल स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले मन्त्रालयगत बजेटमाथिको छलफलमा गृहमन्त्री उपस्थित नभएकोप्रति आपत्ति जनाएपछि बैठक १० मिनेट स्थगित भएको थियो ।

बैठकमा आइतबारदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमाथि छलफल जारी छ । यिनै मन्त्रालयमाथि सांसदहरूले धारणा राख्नेक्रम सोमबार पनि जारी छ । तर, गृहमन्त्री थापा प्रतिनिधिसभा बैठकमा नदेखिएपछि कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले विभिन्न मन्त्रालयमा विनियोजित बजेटको दफाबार छलफलमा सम्बन्धित मन्त्री नै अनुपस्थित रहेको भन्दै नियमापत्ति गरे ।

संसद्मा मन्त्रालयगत छलफलका लागि सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित हुनुपर्ने नियमावलीमा व्यवस्था छ । सोही विषयलाई लिएर संसद् अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेट स्थगित गरे ।

आजबाट मन्त्रीहरूले जवाफ दिँदै
सोमबारको छलफलमा सत्तापक्ष तथा प्रतिपक्षी सांसदले ऊर्जा, परराष्ट्र, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल जारी रह्यो । बजेटमाथि मन्त्रालयगत विभिन्न शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले मंगलबारबाट दिने सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले बताए ।

उनका अनुसार मंगलबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्था तथा यातायात, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमाथि विनियोजित विभिन्न शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनेछन् । प्रतिनिधिसभामा मन्त्रीले जवाफ दिनेक्रम तीन दिन चल्ने कार्यसूची संसद् सचिवालयले तयार पारेको  नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्