प्रधानमन्त्रीले कानुनविद्सँग परामर्श गर्दै


२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भावी कदमका बारेमा कानुनविद्हरुसँग परामर्श गर्दै छन् । संसद्मा अविश्वास प्रस्ताव पेस भएको अवस्थामा त्यो पारित भएमा नयाँ सरकार बन्ने संवैधानिक व्यवस्था नरहेकाले कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्न अपरान्ह ४ बजे बरिष्ठ संविधानविद्हरुलाई प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएका छन् ।

संविधानले सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउने व्यवस्था गरे पनि अर्को चुनाव नहुञ्जेल नयाँ सरकार गठनको बाटो बन्द गरेकाले कसरी बढ्ने भन्नेबारेमा छलफल हुने बताइएको छ । छलफलमा बरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, रामप्रसाद श्रेष्ठका साथै भीमार्जुन आचार्य, टिकाराम भट्टराई, महान्यायाधिवक्ता हरि फुयाललगायतलाई बोलाइएको छ ।

सत्तारुढको दलको पनि बैठक

नेकपा (एमाले) का केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, आजै साँझ छ बजे प्रधानमन्त्री ओलीले सत्तारुढ गठबन्धनका दलहरुको बैठक बोलाएका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि बाँकी दलहरुले एकताबद्ध भएर त्यसको सामना गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्