एक दिनमा एमालेले निकाल्यो दुई वक्तव्य, भारतको नाम पनि थपियो


जेठ २३ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिवार बालुवाटारमा आयोजित स्थायी समिति बैठकमा आफ्नो सरकार ढाल्न अमेरिका र भारत सक्रिय रहेको अभिव्यक्ति दिएको भन्दै सञ्चारमाध्यममा सम्प्रेषण भएपछि त्यसलाई चिर्न एमालेले एक दिनमा दुईवटा वक्तव्य निकालेको छ ।

आइतबार विहान सचिवालयका सचिव प्रदीप ज्ञवालीले वक्तव्य निकाल्दै प्रधानमन्त्री ओलीले त्यस्तो भनाइ नराखेको स्पष्ट पारेका थिए । त्यसमा उल्लेख थियो, ‘सरकार परिवर्तनमा अमेरिकालगायत मित्रराष्टहरुलाई आरोपित गर्दै प्रकाशित समाचारहरु पूर्ण रुपमा कपोलकल्पित, निराधार र मित्र राष्टहरुसँग नेपालको सम्बन्धलाई बिगार्ने सुनियोजित उद्देश्यले प्रेरित देखिन्छन् ।’
समाचारहरुमा भारतको समेत नाम उल्लेख भए पनि वक्तव्यमा त्यसको चाहिँ खण्डन गरिएको थिएन ।

तर, आइतबार साँझ बालुवटारमै पुनः बसेको स्थायी समिति बैठकपछि साँझ प्रचार विभाग प्रमुख योगेश भट्राईले जारी गरेको वक्तव्यमा चाहिं अमेरिकासँगै भारतको नाम पनि उल्लेख छ । वक्तव्यमा उल्लेख छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र अमेरिकाका सम्बन्धमा भन्नुभएका भनी कतिपय सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरुप्रति स्थायी कमिटीको गम्भीर रुपमा ध्यान गएको छ ।’

वक्तव्यमा उल्लेख छ, ‘नेकपा (एमाले) स्थायी कमिटीको जेठ २२ गते बालुवाटरमा बसेको बैठकमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र अमेरिका सम्वन्धमा भन्नुभएको भनी कतिपय सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति गम्भीर रुपमा ध्यान गएको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा सञ्चार माध्ययममा चर्चा गरिएझै प्रधानमन्त्रीले त्यस्तो कुनै अभिव्यक्ति नदिएको र बैठकमा त्यस्तो कुनै निर्णय नभएको स्थायी कमिटी स्पष्ट पार्न चाहन्छ ।’

शनिवारबाट जारी बैठकले शनिबार नै राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिने निर्णय गरेको छ । बैठक सोमबार दिउँसो ३ बजे पुनः बस्ने छ । बैठकमा राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक व्यवस्थापन, प्रदेश संगठन कमिटी निर्माण, केन्द्रीय निकायमा मनोनयन, सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रव्यापी अभियान, जेष्ठ, सल्लाहकार मञ्चमा मनोनयनसहितका एजेण्डा राखिएको छ । आइतबारको बैठकले उपचारका क्रममा रहेका वरिष्ठ संगितकार अम्बर गुरुङ र जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्