प्रधानमन्त्रीले विवादास्पद व्यक्तिलाई भेटेर देशको खिल्ली उडाएः एमाले


४ असोज । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले पक्राउका लागि वारेन्ट जारी गरेका रेशम चौधरीलाई भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेपछि त्यसको सर्वत्र विरोध भएको छ ।

गत वर्ष भदौ ७ गते सीमांकनको विरोधमा थरुहट र थारुवान संयुक्त संघर्ष समितिले गरेको आन्दोलनका क्रममा झडप हुँदा टीकापुरमा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलगायत आठ सुरक्षाकर्मीको क्रूरतापूर्वक हत्या भएको थियो । उक्त नरसंहारमा दुई वर्षे बालकको समेत हत्या भएको थियो ।

उक्त घटनापछि प्रहरीले चौधरीलाई खोजी गरे पनि उनी फरार रहेका थिए र गुमनामजस्तै बनेका थिए । तर, केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा चौधरीलाई भेट गरी केही बेर कुराकानी समेत गरेको समाचार बाहिर आएको थियो ।

यसैबीच, नेकपा (एमाले) ले प्रधानमन्त्री जस्तो व्यक्तिले विवादास्पद व्यक्तिलाई भेट गरेको भन्दै आलोचना गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटी बैठकले प्रचण्डले त्यस्ता विवादास्पद व्यक्तिसँग भेट गरेको भन्दै आलोचना गरेको छ ।

‘प्रधानमन्त्री जस्तो व्यक्तिले त्यस्ता विवादास्पद व्यक्तिलाई भेट गरेर आफ्नो गरिमा नै कमजोर बनाएका छन्,’ एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज भने ‘उहाँले देशकै खिल्ली उडाउने काम गर्नुभएको छ ।’

भारत र नेपालका लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधन गर्न ताजमहल होटेलमा आयोजना गरिएको कार्यक्रममा दाहालले चौधरीलाई मञ्चमै बोलाएर भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्