प्रधानमन्त्रीले विश्वासको मत लिन खोजे कांग्रेस–माओवादीले अविश्वास प्रस्ताव ल्याउने


२८ असार । माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमनत्री केपी शर्मा ओलीले संसद् फेस गर्ने अडान लिएको उनका सल्लाहकारहरुबाट सार्वजनिक भएपछि कांग्रेस–माओवादी त्यसको सामना गर्ने गृहकार्यमा जुटेका छन् ।

संविधानमा सरकारालाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिन सक्ने व्यवस्था छ । तर, त्यसो गर्दा समय लाग्ने भएका कारण त्यसभन्दा छिटो गर्नका लागि अविश्वास प्रस्ताव दर्ता गरेर अघि बढ्नेबारेमा छलफल भइरहेको माओवादीका एक नेताले पहिलो न्युजलाई बताए । उनले भने, ‘अल्पमतमा परिसकेकपछि स्वतः राजीनामा दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ । तर, उहाँले राजीनामा दिनुभएन भने अविश्वास प्रस्ताव ल्याउँछौँ ।’ त्यसको कारण पुष्टि गर्दै उनले भने, ‘विश्वासको मत एक महिनाभित्र लिने भन्ने छ । आयु लम्ब्याउनका लागि उहाँले ढिलो गर्ने प्रस्टै छ । तर, अविश्वास प्रस्ताव चाहिँ दर्ता भएको सात दिनभित्र किनारा लाग्छ । त्यही भएर सम्भवतः अविश्वासको प्रस्तावको विकल्पमा जान्छौँ होला ।’

सभामुख ओनसरी घर्ती माओवादीकै भएका कारण संसद्मा पेस हुने कुनै पनि प्रस्ताव सजिलै अघि बढ्ने अवस्था छ । कांग्रेस–माओवादी दुबैले जुनसुकै बेला प्रयोग गर्न मिल्ने गरी यसअघि नै सांसदको हस्ताक्षर गराएर राखेका छन् । मधेसी दलहरुसँग पनि सरकारमा सहभागी हुनेबारे छलफल सुरु भएको छ । त्यसो भएमा ओली सरकारका विरुद्धमा स्पष्ट रुपमा बहुमतसहित अविश्वास प्रस्ताव पेस गर्दा पारदर्शी हुने र बीचमा कसैले चलखेल गर्न नसक्ने उनीहरुको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्