प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा हल्ला मात्रः मन्त्री पाण्डे


२ साउन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले संसद् विघटन गर्नै कुरा हल्ला मात्र भएको बताएका छन् । उनले प्रधानमन्त्रीले संसद् नगर्ने तर अविश्वासको प्रस्ताव सामना गर्ने बताए । प्रधानमन्त्रीले संसद विघटन गर्ने भन्ने हल्ला चलिरहेका बेला सरकारकै मन्त्रीको यस्तो भनाई आएको हो ।

राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधानले निर्दिष्ट गरेको बाटोबाट सरकार एक ईन्च पनि तलमाथि नहुने बताउँदै संसद्मा अविश्वासको प्रस्ताव पेस भएकाले अहिले नै यो सरकार अल्पमतमा प¥यो भनी राजिनामा माग्नु असंवैधानिक हुने बताए । मन्त्री पाण्डेले आफू अनुकूल संविधानको व्याख्या नगर्न आग्रह गर्दै संसद्बाट केही आर्थिक विधेयक पारित नभए सरकारमात्रै नभएर मुलुक नै असफल हुने दाबी पनि गरे ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकको आवश्यकताका आधारमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन बनेको बताए । प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने विश्वास कांग्रेसले लिएको धारणा राख्दै उनले राजनीतिक दलहरुबीच तिक्तता रहेपनि संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणमा मिलेरै अघि बढ्नुपर्ने बताए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले मुलुकका विद्यमान समस्यालाई समाधान गर्न संविधानप्रति असन्तुष्ट मधेसी, आदिवासी, जनजाति, पिछडिएका वर्गको भावनालाई सम्बोधन गरिनुपर्ने बताए । उनले एमालेले आफ्नो पार्टीसँग विगतमा गरेका सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै प्रधानमन्त्रीले नैतिकता प्रदर्शन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्