प्रधानमन्त्रीविरुद्ध प्रचण्डको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता


२९ असार । वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संयुक्तरुपमा संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रचण्डको नेतृत्वमा २ सय ५५ सांसद्को हस्ताक्षरसहित संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको हो । सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएको केही घण्टापछि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बुधबार आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाएका थिए । ‘संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने । श्रेष्ठले संविधानको धारा २९८ लाई आधार मानेर अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिए । अविश्वासको प्रस्तावमा कांग्रेसका १ सय ८३, माओवादीका ६९ र बाँकी नेकपा संयुक्तका सासंदले हस्ताक्षर गरेका छन् ।

संविधानको धारा २९८ को (१३) मा व्यवस्थापिका संसदका सम्पूर्ण सदस्य संख्याको कम्तिमा एक चौथाइ सदस्यले यस धारा वमोजिम नियुक्त भएको प्रधानमन्त्री उपर व्यवस्थापिका संसदको विश्वास छैन भनी लिखितरुपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् भनी उल्लेख गरिएको छ । तर यस धारा बमोजिम नियुक्त एउटै प्रधानमन्त्रीउपर छ महिनामा एकपटक भन्दा बढी अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।

प्रतिक्रिया दिनुहोस्