प्रधानमन्त्री ओलीको भारत भ्रमण ऐतिहासिकः परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भं्रमण ऐतिहासिकरुपमा सफल भएको बताएका छन् । सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरे ।

सन् २००६ देखि नेपालमा शुरु भएको राजनीतिक परिवर्तनको श्रृङ्खला नयाँ उचाइमा पुगेको, स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण भएको उनको भनाई थियो ।

भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको तीन चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित भएकोमा प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको शुभकामना दिएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारीदिए ।

प्रतिक्रिया दिनुहोस्