प्रधानमन्त्री ओलीले भने– ‘सफलतापूर्वक जिम्मेवारी पूरा गरेँ’


१० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सरकारी निवास बालुबाटरमा समीक्षा बैठक राखेका छन् ।

संसदमा करिब दुई घण्टा लिखित मन्तव्य दिएर सबैलाई भाबुक बनाएका प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधन, त्यसपछिको प्रतिक्रिया र अहिलेसम्म आफूले गरेका कामको समीक्षा बैठकमा गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

‘उहाँले बैठकमा आफूले सफलतापूर्वक जिम्मेवारी पूरा गरेको भन्दै कार्यकाल सफल बनाउँन प्रत्यक्ष परोक्ष भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो,’ समीक्षा बैठकमा सहभागी एक नेताले प्रधानमन्त्रीको भनाई उध्रित गर्दै पहिलो न्युज डटकमसँग भने, ‘उहाँले सरकारको गठन र विघटन, सरकारलाई विश्वासको मत र सरकारविरुद्ध अविश्वासको प्रस्ताव एवम् आवधिक निर्वाचन जस्ता बिषय लोकतान्त्रिक शासन प्रणालीका विशेषता भएको उल्लेख गर्नुभयो ।’

बैठकमा प्रधानमन्त्री ओलीले आइतबार संसदमै सम्बोधन गरेका अभिव्यक्ति प्रस्तुत गरेका थिए । ‘सरकारको जय या पराजय ठूलो कुरा होइन, संविधान र लोकतन्त्रले सफलता हासिल गर्नु महत्वपूर्ण बिषय हो,’ बैठकमा ओलीले भने, ‘मेरो खास त्यस्तो टिप्पणी छैन ।’

छलफलमा सरकारमा सहभागी मन्त्रीहरु, नेकपा (एमाले) संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भानुभक्त ढकाल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति रहेको थियो । बैठकमा एमालेलाई आगामी दिनमा अझ् बलियो, विचारमा परिपक्क र अडान भएको पार्टी बनाउन कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

‘बैठकमा आउने–जाने क्रम जारी थियो,’ बैठकमा सहभागी नेम्वाङले भने, ‘त्यस्तो खास समीक्षा बैठक त होइन । प्रधानमन्त्रीज्युले सामान्य भेटघाट गर्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्