प्रधानमन्त्री कार्यालयमै प्रचण्डले भने– ‘इमान्दारहरुमाथि तरबार झुण्डिएको महशुस हुन्छ’


८ कत्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन दिएका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक योजना तथा निर्माण, स्थानीय विकास, उर्जा, खानेपानी, अर्थ, गृह लगायतका मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरुको संयुक्त बैठलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने– ‘हामी सबैले काम गरेका छौं । तर, हाम्रो काममा समन्वय छैन । खानेपानीले गरेको काम विद्युतलाई थाहा हुँदैन, भौतिक मन्त्रालयले गरेको काम स्थानीय विकासलाई थाहा हुँदैन । यसरी परिणाम निकाल्न सकिँदैन । त्यसैले एकीकृत र समन्वयात्मक रुपमा काम गरेर परिणाम निकाल्नुस् ।’
बैठकमा प्रधानमन्त्रीले गैरकानुनी राज्यले कानुनी राज्य कमजोर बनाएको भन्दै त्यसलाई चिर्न नयाँ संकल्प जरुरी भएको बताए । प्रधानमन्त्रीले भने– ‘म यसो विचार गर्छु, कानुनी राज्यमाथि गैरकानुनी राज्यको दबाब छ, इमान्दारहरुमाथि तरबार झुण्डिएको महशुस हुन्छ । केही काम गर्न खोज्यो कि विभिन्न खालका अवरोध र दबाब आउँछ ।’

उनले ती दबाबलाई चिरेर देशलाई केही दिने संकल्प गर्नै पर्नेमा जोड दिए । ‘त्यसका लागि दृढ संकल्पका साथ कानुनी राज्य बलियो बनाउन लागौँ ,’ उनले भने ‘सरकार त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न तयार छ । हामीले देशलाई साक्षी राखेर केही परिणाम निकालौं ।’

बैठकमा प्रधानमन्त्रीले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डी नराख्न, विद्युत्, खानेपानी, सडक लगायतका पूर्वाधार निर्माणमा समन्वय गरेर काम गर्न निर्देशन दिए । बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा अंगका अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्