प्रधानमन्त्री कार्यालय ‘शक्तिसाली’बनेपछि एक सय कर्मचारीलाई कार्यालयको खोजी


काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री कार्यालयमा ६ ओटा नयाँ महाशाखा थपेर शक्तिसाली बनाइएपछि एक सयभन्दा बढि कर्मचारीका लागि कार्यकक्ष अभाव भएको छ । भुकम्पपछि स्थानीय विकास मन्त्रालयको भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको थियो । कार्यालय मातहत ५ ओटा महाशाखा रहँदै आएकोमा गत १४ चैतको मन्त्रिपरिषद् बैठकले कार्यालयलाई शक्तिसाली बनाउने प्रधानमन्त्री केपी ओलीको योजना साकार पार्दै ११ ओटा महाशाखा बनाएको थियो ।
दरबन्दी बढाइएपछि दैनिक कार्य संचालनमा कार्यकक्ष अभाव भएको छ । अभावपूर्तिका लागि प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्राय या अन्य भवनमा उपयुक्त स्थानको खोजी तीब्र पारेको छ । थपिएका महाशाखा प्रमुखको जिम्मेवारी पाएका ६ जना सहसचिवले प्रधानमन्त्री कार्यालयमा दुईसातादेखि हाजिर गर्दै फर्किदैं गर्ने गरेका छन् । कार्यालय अभाव भएपछि सिंहदरबार पुननिर्माण सचिवालयलाई यथाशक्य व्यबस्थापनका लागि पत्राचार गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए । प्रधानमन्त्री कार्यालयका लागि १६ ओटा नयाँ कोठा आवश्यक परेको छ ।
प्रधानमन्त्रीलाई शक्तिसाली बनाउन थपिएका यी महाशाखा
प्रधानमन्त्री कार्यालयमा ५ सचिव रहनेगरी ११ ओटा महाशाखा अन्तर्गत २ सय ३७ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ जनाको दरबन्दी थियो । नयाँ थपिएका महाशाखाहरुमा सामाजिक विकास तथा रुपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कुटनीति समन्वय महाशाखा, नतिजा व्यबस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रबद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा छन् । सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दैछन् । प्रादेशिक समन्वय योजना महाशाखाले सिधै प्रदेश मन्त्रिपरिषद्सँग समन्वय गर्छ । त्यस्तै, रक्षा, गृह र परराष्ट्र मन्त्रालयले हेर्ने सुरक्षा मामिला र कुटनीतिक मामिलासँग समन्वय पनि प्रधानमन्त्री कार्यालयले गर्ने भएको छ ।
प्रधानमन्त्रीको रुचीमा थपिएका महाशाखा 
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीको विशेष रुचिमा प्रधानमन्त्री कार्यालयअन्तर्गत नतिजा व्यबस्थापन महाशाखा बनेको छ । सहसचिवको नेतृत्वमा रहने सो महाशाखाले सबै मन्त्रालयहरुले बजेट खर्च अनुसार परिणाम कस्तो गरिरहेको छ ? ठीक ढंगले काम भइरहेको छ÷छैनसमेत प्रत्यक्ष अनुगमन गर्नेछ । शासकीय सुधार महाशाखा अन्तर्गत राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागलाई राख्नेगरी तयारी भइरहेको छ ।
यसरी रोकिए बालुवाटारमै प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली करिब तीन सातादेखि सरकारी निवास बालुवाटारमै रोकिए । कारण थियो–प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको कार्याकक्षदेखि क्याबिनेट बैठक कक्षसम्मको मर्मतसम्भार । भारत भ्रमणअघिसम्म कार्यालय गएका प्रधानमन्त्री ओली विहिबार मर्मतसम्भार सकिएपछि कार्यालय पुगे । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले कार्यकक्षमा मर्मतसम्भार भइरहेका कारण प्रधानमन्त्री लामो समयपछि कार्यालय गएको बताए ।
कार्यालय प्रवेशमा नियन्त्रण प्रणाली
प्रधानमन्त्री कार्यालयलाई आधुनिक, व्यबस्थित, सुरक्षित तथा प्रविधि मैत्री बनाउँदै प्रवेशद्वार नियन्त्रणमूखि बनाइएको छ । सुरक्षाकर्मीको प्रत्यक्ष नियन्त्रण हुनेगरी प्रधानमन्त्री कार्यालयको छुट्टै कार्डबाट मात्र प्रवेशद्वार खुल्नेगरी ‘एक्सेस कन्ट्रोल सिस्टम’ राखिएको जनाइएको छ । प्रवेशीहरुको सबै कुरा रेकर्ड हुने र बिना अनुमति अनावश्यक व्यक्ति प्रवेश नपाउनेगरी कन्ट्रोल सिस्टम संचालनमा ल्याइएको हो । ‘०७४ असारमा अगाडि बढाइएको एक्सेस कन्ट्रोल सिस्टम संचालनमा ल्याइएको हो ।’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्