प्रधानमन्त्री केपी ओली र ‘खर्पन’ शीर्षकको कविता


१३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले सबैतिर चर्चा छ । सामाजिक सञ्जालदेखि पत्र–पत्रिका र अन्य सञ्चार माध्ययममा पनि ओलीको निकै चर्चा हुने गरेको छ ।

केही दिन अघि व्यवस्थापिका संसद्मा करिब दुई घण्टा लामो आफ्नो मनतव्यसँगै राजीनामा दिएपछि अझ् उनको चर्चाले चुली छोएको हो । ओली सरकारको राजीनामा भन्दा पनि भारतसँग ओलीले लिएको अडानका कारण उनको अझ् बढी चर्चा भयो । निकै लामो समय जेल जीवन गुजारेका ओली स्वयम् पनि नाफाको जिन्दगी भन्दै बाँचुन्जेल राम्रो काम गर्ने दाबी गर्छन् ।

जेल जीवनमा पनि आफ्नो विचारप्रति प्रतिवद्ध ओलीको करिब ३२ वर्ष पुरानो ‘खर्पन’ शीर्षकको कविता अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको यो कविता निकै प्रगतिशील र क्रान्तिकारी देखिन्छ । खर्पनलाई प्रतीक बनाएर तत्कालीन व्यवस्थाप्रति व्याङ्ग्य गरेको यो कविता उनी काम चलाउ प्रधानमन्त्री रहेकै बेला सार्वजनिक हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । पूरा कविता यस्तो छः

म यही खर्पनमा हालेर हरदिन बेलुका
बितेको थोत्रो दिनलाई विदा गर्छु ।

म यही खर्पन थापेर हरदिन आउने बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु ।

हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ,
अथवा यही खर्पनबाट गज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ ।
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु र

यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई ।
यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ

तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ ।
यो मेरो विहान हो, मेरो दिन हो, बेलुका पनि हो

मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढौली पनि हो ।
मेरो जीवनको दियो जलाउने बाती हो खर्पन ।

मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरुसँगको मेरो जी हजुर ‘तँ,तँ,मँ, मँ सबै सम्बन्धहरु हो खर्पन ।
मेरो घर, मेरो घाट, मेरो बजार, मेरो हाट जे पनि हुन्छ खर्पन ।

(यो कविता प्रधानमन्त्री ओलीले २०४१ सालमा पोखरा जेलमा लेखेका हुन्) 

प्रतिक्रिया दिनुहोस्