प्रधानमन्त्री घोषणा गरेर जाने विषयमा एमालेभित्र मत–विमत


८ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने कुरा नेकपा (एमाले) को चालु केन्द्रीय कमिटीको बैठकमा उठेको छ । स्थानीय तहको चुनावको समीक्षा, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा आगामी चुनावमा प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने कुरा उठेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा बैठकमा पेश भएको प्रतिवेदनमाथि बोल्ने क्रममा विभिन्न समूह बनाइएको थियो । ती समूहमध्ये ६ समूहबाट प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने कुरा उठेको थियो । प्रदेश नं. १ का तर्फबाट डा. शिवमाया तुम्वाहाम्फे, ३ बाट काशीनाथ अधिकारी, ४ बाट गणेश तिमल्सिना, ५ बाट दलबहादुर रानामगर, ६ बाट यामलाल कँडेल र मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले बोल्ने क्रममा प्रधानमन्त्री घोषणाको कुरा उठेको थियो ।

तर, प्रदेश नं. ७ को तर्फबाट उपाध्यक्ष भीम रावलले भने प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने कुरा स्थायी समितिले टुंग्याउन सक्ने भन्दै आफ्नो विचार राखेका थिए । प्रदेश नं. २ को तर्फबाट सत्यनारायण मण्डलले प्रतिवेदनमाथि बोल्ने क्रममा भने प्रधानमन्त्री घोषणाका विषयमा कुनै कुरा उच्चारण गरेनन् । शुक्रबारदेखि जारी बैठक आज पनि बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्