प्रधानमन्त्री दाहाल निर्वाचनका लागि तयार भएकै हुन् ?


१ फागुन । निर्वाचन टार्न उद्यत रहेको आरोप झेलिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला केही दिनयता राजनीतिक संवादलाई तीव्र तुल्याएका छन् । तीन दिनयता प्रधानमन्त्री दाहालले प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली, नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा र नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई भेटेर अहिले उत्पन्न राजनीतिक जटिलताको निकास खोज्न संवादको थालनी गरेका हुन् ।

प्रधानमन्त्री दाहालकै कारण सत्तारुढ दलभित्रै असहज वातावरण बन्दै गइरहेको थियो भने प्रमुख प्रतिपक्षी एमालेलगायत अरु दलहरु त रुष्ट नै थिए । बारम्बार निर्वाचनको कुरा उठाए पनि मिति घोषणा गर्न आलटाल गर्ने प्रधानमन्त्री दाहालकै कारण प्रमुख दलहरुबीच असमझदारी बढ्दै गएको थियो । तर, तीन दिनयता प्रधानमन्त्री दाहालले राजनीतिक संवादलाई तीव्र तुल्याएका हुँदा अब भने निकास निस्कने हो कि ? भन्ने अनुमान लगाइन थालिएको छ ।

शनिबार साँझ प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति देउवाबीच बालुवाटारमा वार्ता भएको छ । पछिल्लो समय, प्रधानमन्त्री दाहाल र सत्ता साझेदार काँग्रेसबीच आशंकाको बादल बढ्दै गएको बताइन्छ । काँग्रेसको कृपास्वरुप नौ महिनाका लागि सत्ताको चाबी हातमा लिएका प्रधानमन्त्री दाहालले काँग्रेसको निर्देशनअनुरुप चल्न छाडेको निचोड काँग्रेस पंक्तिबाट लाग्न थालेको छ ।

अझ, स्थानीय तह वा निकायमध्ये कुनको निर्वाचन गर्ने भन्नेबारे माओवादी–केन्द्र र काँग्रेसबीच मत बाँझिदै आएको छ । माओवादी केन्द्रले स्थानीय तहकै पक्षमा आफूलाई उभ्याउँदै आएको छ भने काँग्रेसले भने स्थानीय निकायको चुनावमा जोड दिँदै आएको छ । संविधान संशोधनको विषयमा पनि सुरुमा सत्ता साझेदार दलबीच मतैक्य देखिए पनि पछिल्लो समय भने दुवै दलमा अलमल देखा परेको छ । तर, शनिबारको भेटमा भने राजनीतिक मुद्दाहरुबारे गम्भीर छलफल पनि हुनुभन्दा नेपाल प्रहरीको महानिरीक्षकको विषयमा बढी छलफल भएको जनाइएको छ ।

प्रहरी महानिरीक्षकमा काँग्रेस सभापति देउवाले तेस्रो वरियताका जयबहादुर चन्दलाई अघि सारेका छन् भने गृहमन्त्री विमलेन्द्र निधिले भने पहिलो वरियताका नवराज सिलवाललाई अघि सारेका छन् । एक–दुई दिनभित्रै महानिरीक्षक टुंगो लगाउनुपर्ने भएको हुँदा शनिबारको बैठकमा यही विषयमा नै बढी छलफल भएको बताइएको छ ।

यसअघि, शुक्रबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच करिब डेढ घन्टासम्म छलफल चलेको थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएपछि सरकार र प्रमुख प्रतिपक्षी दलका प्रमुखबीच लामो समय छलफल भएको पहिलो पटक नै हो । गएको साउनमा एमालेसँगको गठबन्धन टुटाएर काँग्रेससँग सत्ता साझेदार गर्न पुगेको माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीचको सम्बन्ध सौहार्द रहेन । झन्, एमालेसँग कुनै परामर्श नै नगरी प्रधानमन्त्री दाहालले मंसिरको दोस्रो साता संविधान संशोधन विधेयक दर्ता गराएपछि यी दुई दलबीच पूरै असमझदारी बढ्न पुगेको थियो ।

तर, शुक्रबारको डिनर–भेटमा भने एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच आगामी जेठभित्र स्थानीय तहको चुनाव गराउने विषयमा सहमति बनेको बताइन्छ । दाहाल नेतृत्वको सरकारले जेठको पहिलो हप्तामा बजेट ल्याएलगत्तै स्थानीय तहको चुनाव गर्ने अनौपचारिक टुंगो लागेको बताइएको छ । सरकारले जेठमा बजेट ल्याउँदा त्यसलाई एमालेले समर्थन गर्ने र फागुनको पहिलो सातामा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तय भएको जनाइएको छ ।

यसैबीच, शनिबार प्रधानमन्त्री दाहाल र सोह्र महिनाअघि दाहालकै पार्टीबाट अगल भएर हिँडेका नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच पनि वर्तमान राजनीतिक विषयमा कुराकानी भएको छ । सो भेटमा डा. भट्टराईले निर्वाचन र संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढिरहेको छ भनेर जिज्ञासा राखेका थिए । प्रत्युत्तरमा दाहालले यी दुवै विषयमा राजनीतिक दलहरुबीच सहमति बन्न नसकिरहेको कुरा बताएका थिए । प्रधानमन्त्री दाहालले निर्वाचनका लागि आयोगलाई निर्देशन दिइसकेको हुँदा चुनाव हुनेमा आश्वस्त तुल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्