प्रधानमन्त्री दाहाल र एमाले बरिष्ठ नेता नेपालबीच भेट, चार विषयमा छलफल


२५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । विहान नौ बजे सिंहदरबारस्थित संसद् भवनमा भएको भेटवार्ताका क्रममा चारवटा विषयमा कुराकानी भएको थाहा भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार, प्रधानमन्त्री दाहालले अस्तिदेखि भेट्न खोजे पनि बरिष्ठ नेता नेपाल बीचमा रौतहट गएका कारण भेट सर्दै आएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले बरिष्ठ नेता नेपाललाई आफ्नो आसन्न भारत भ्रमणका बारेमा जानकारी गराउँदै त्यसक्रममा हुन लागेका छलफलका बारेमा चर्चा गरेका थिए । दाहालले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने, संविधान निर्माणका बेला कतिपय पक्षमा देखा परेका असमझदारीहरुलाई हटाउने र नेपालको आर्थिक विकासका लािग सहयोग प्राप्त गर्ने विषयमा आफ्नो भ्रमण केन्द्रित रहने जानकारी बरिष्ठ नेता नेपाललाई दिनुभएको छ । बरिष्ठ नेता नेपालले भ्रमणका क्रममा कुनै पनि विवादास्पद विषयमा छलफल नगर्न र विवाद हुने काम नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।

भेटका क्रममा बरिष्ठ नेता नेपालले यसअघि आफ्नो पार्टीको नेतृत्वको सरकारका बेलामा अघि सारिएका विकासका कार्यक्रमहरुलाई त्यही रुपमै अघि बढाउन आग्रह गर्दै बीचमा कुनै पनि बाहनामा त्यसमा तलमाथि नगर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले आफूसमेत संलग्न सरकारले अघि सारेका कार्यक्रममा दायाँ बायाँ नगर्ने आश्वासन दिएका थिए ।

संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको उल्लेख गर्दै बरिष्ठ नेता नेपालले आगामी चैतभित्र स्थानीय तह र अर्को वर्षको मंसिरभित्र प्रदेश तथा संसद्को चुनाव गर्ने होइन भने मुलुक पुनः संकटको भूमरीमा फस्ने धारणा राखेका थिए । त्यसमा सहमति जनाउँदै प्रधानमन्त्री दाहालले आफ्नो ध्यान चुनावमै केन्द्रित हुने र संविधान कार्यान्वयनका लागि सबै दलहरुको सहयोग चाहिने धारणा राखेका थिए । त्यसका लागि संविधान संशोधन गरेर मधेसी दलहरुलाई पनि साथमा लैजानुपर्ने भएकाले सहयोगका लागि अनुरोध गरेका थिए ।

केही समयता दुई एमाले र माओवादीबीच तिक्त रहेको सम्बन्ध सुधारका बारेमा पनि दुई नेताबीच छलफल भएको थियो । लोकतन्त्रमा प्रतिस्पर्धा र सहकार्य एकसाथ चलिरहने भएका कारण दलहरुबीचको सम्बन्ध सौहाद्र्ध बनाउनुपर्नेमा उनीहरुबीच कुराकानी भएको थियो । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि पूर्वसहयात्री यी दुई दलबीच आरोप प्रत्यारोप चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्